धितोपत्र बोर्डको अध्यक्षले सबै आशंका चिर्दै पुँजी बजारको विकासमा काम गर्ने अर्थमन्त्रीको विश्वास
११ मंसिर, काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सबै आशंकाहरुलाई चिर्दै पुँजी बजारको विकासमा महत्वपूर्ण योगदान विश्वास व्यक्त गर्नुभएको छ ।
बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराउँदै उपप्रधानमन्त्री पाैडेलले उहाँले पुँजी बजारको व्यवस्थित विकासका लागि अध्यक्षले गतिशिल ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘सरकारले कानुनसम्मत ढंगले खुल्ला रुपमा प्रतिष्पर्धाको विधि अबलम्बन गरेर धितोपत्र बोर्डको अध्यक्ष छनोट गरेकोछ । अब पुँजी बजारका क्षेत्रमा रहेका यावत समस्याहरुलाई संस्थागत रुपमा सम्बोधन हुने विश्वास छ । पुँजी बजारको व्यवस्थित विकासका लागि अध्यक्षले गतिशिल ढंगले काम गर्ने विश्वास छ ।’
सो अवसरमा नवनियुक्त अध्यक्ष श्रेष्ठले लोभलालचमा नपरी धितोपत्र कानुन अनुसार क्षमताले भएसम्म उच्च नैतिकता प्रदर्शन गर्दै काम गर्ने बताउनुभयो । शपथसँगै उहाँले नियुक्ति गरेर काम गर्ने अवसर प्रदान गरेकोमा सिफारिस समिति, अर्थमन्त्रालय र मन्त्रिपरिषद्लाई धन्यवाद समेत दिनुभयो ।
झण्डै एक वर्षदेखि धितोपत्र बोर्डको अध्यक्ष रिक्त रहेको थियो । २०८० सला पुस २० गतेदेखि बोर्ड नेतृत्वबिहीन भएको थियो । तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएसँगै बोर्डको अध्यक्ष नियुक्तिको विषय चरम विवादित बनेको थियो ।
आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको संयोजनमा रहेको सिफारिस समितिले नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा श्रेष्ठले अध्यक्षमा नियुक्त हुनुभएको छ । श्रेष्ठसहित डा नवराज अधिकारी र मुक्ति श्रेष्ठको नाम अध्यक्षका लागि सिफारिस भएको थियो ।
प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलवार १८:५६