९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

योजना आयोगका उपाध्यक्ष बिरामी नभए सेबोन अध्यक्षका आकांक्षीको अन्तर्वार्ता आज

९ मंसिर, काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी आकस्मिक रूपमा बिरामी नपरे नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षको आकांक्षी तीन जनाको पुनः अन्तर्वार्ता आज हुँदैछ । आज आइबार बिहान ८ बजे प्रस्तुीकरण र पुनः अन्तरवार्ताका लागि आकांक्षीहरूलाई  बोलाइएको छ ।

अध्यक्ष सिफारिस समितले गत असोज १९ मा अन्तर्वार्ता र प्रस्तुतीकरणको समय तोकेको भए पनि समितिका संयोजक रहनुभएको योजाना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी आकस्मिक रूपमा बिरामी पर्नुभएपछि अन्तिम समयमा स्थगित भएको थियो । अन्तर्वार्तामा बोलाइएकामा तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, धितोत्रप बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की रहनुभएको छ । उहाँहरू पहिलो र दोस्रो पटक बोलाइएको अन्तर्वार्तामा सहभागी हुनुभएको थिएन ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदादेखि नै गिजोलिएको अध्यक्ष नियुक्ति पक्रिया महिनौँ लम्बिएको छ।  तत्कालीन सरकारले अध्यक्षका लागि पाँच अर्बको डिल गरेको विषय सार्वजनिक चर्चाको विषय समेत बनेको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डको अध्यक्षको नियुक्तिको विषयमा पाँच अर्ब डिलको विषयले समस्या ल्याएको बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो पार्टी सरकारमा भएको तर निर्णय प्रक्रियामा नभएको समयमा आफूलाई तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले बोर्ड अध्यक्ष हुनेबाट पाँच अर्ब लिन लागेको विषय पत्रिकामा लेखाएको बताउँदै सोही विषयमा आफूले चासो देखाएपछि तत्कालीन प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई छटपटी चलेको बताउनुभएको थियो ।

उहाँले भन्नुभएको थियो,  ‘त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए भने अर्थमन्त्री वर्षमान पुन थिए । हाम्रो पार्टी सरकारमा भए पनि हामी न निर्णय गर्ने ठाउँमा थियौँ । त्यति चाहिँ भनेको हो– तपाईंहरूले हरेक परिस्थितिलाई लाभ लिने अवसरका रूपमा प्रयोग नगर्नू । देशको अवस्था नाजुक छ, यसमा कमिसनखोरी गर्ने, कमिसन खाने, पैसा लिएर नियुक्ति, पैसा लिएर नियुक्ति, पैसा लिएर सरुवा बढुवा, कमिसन लिएर ठेक्का दिने वा काम लिने जस्ता कुराहरू र कमिसनका भरमा खेलबाड हुने कुराहरूलाई यस्तो चल्दैन यो नगरौँ भनेको थिएँ ।’

प्रकाशित मिति : ९ मंसिर २०८१, आईतवार ०८:००