७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

नेपाललाई विदेशी लगानी र ऋण ल्याउन सहजः अर्थमन्त्री पौडेल

७ मंसिर, काठमाडाैँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वभौम रेटिङको नतिजाले नेपाललाई प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) र विदेशबाट ऋण ल्याउन सहज भएको बताउनुभएको छ । शुक्रबार सार्वभौम रेटिङको नतिजाबारे पूर्ण जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पाैडेलले नेपाललाई विदेशीबाट पुँजी भित्र्याउन सहज हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ नतिजा प्राप्त गर्न सफल भएको छ । नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको छ । क्रेडिट रेटिङको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सबल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्यून व्याजदारमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ ।’

dainiki.com

उपप्रधानमन्त्री पाैडेलले यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने बताउनुभयो । यो रेटिङसँगै बैंक तथा वित्तीय संस्था र अरू संस्थानहरूले विदेशबाट ऋण ल्याउँदा पनि लागत कम हुने बताइ्एको छ ।

नेपालको सार्वभौम क्रेडिट रेटिङ्गले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म प्रस्तुत गरेको छ । सार्वभौम क्रेडिट रेटिङ्ग विगतका तथ्यांक विश्लेषणको नतिजा मात्र नभएर भविश्यपरक दृष्टिकोण समेत हो । यसले अर्थतन्त्रको भावि दिशा र संभावनाको आंकलन गर्दै मुलुकले भविश्यमा आफ्नो ऋण दायित्व पुर्णरुपमा र समयमै भुक्तानी गर्न सक्ने क्षमताको मापन गर्दछ ।

क्रेडिट रेटिङ्गको नतिजालाई दक्षिण एसियाली मुलुकहरुको रेटिङ्ग नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ्ग सन्तोषजनक रहेको छ । यसले सरकार, निजी क्षेत्र र सम्पुर्ण लगानीकर्ताहरुको लागि उत्साह सिर्जना गरेको छ । नेपाल सन् 2026 मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नविनतम एवं वैकल्पिक वित्तका स्रोत परिचान गर्नु पर्ने अवस्थाको पूर्व तयारीको रुपमा समेत सार्वभौम क्रेडिट रेटिङ्गलाई लिन सकिन्छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार १३:१२