८ पुष २०८१, सोमबार | Mon Dec 23 2024

अमेरिकन प्रविधिमा बनेको नुवाकोटकै सबैभन्दा बढी क्षमताको हिमालय शीतभण्डार तयार

३० कात्तिक, नुवाकोट । नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर ५ माझिटारमा हस्तकला व्यवसयामा सफल हुनुभएको गोपी कँडेलको नेतृत्वमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण सम्पन्न भएको छ । राज्यले दिने सिआइपी सम्मान पटक पटक प्राप्त गरिसक्नुभएको कँडेलको नेतृत्वमा शीतभण्डार तयार भएको हो ।

अत्याधुनिक प्रविधिको प्रयोग गरेर हिमालय शीतभण्डार निर्माण गरिएको अध्यक्ष कँडेलले जानकारी दिनुभयो । तेह्र रोपनी क्षेत्रफलमा २५ करोड लागतमा शीतभण्डार निर्माण भएको अध्यक्ष कँडेलले बताउनुभयो ।  कँडेलका अनुसार शीतभण्डारमा प्रालिको दश करोड र बाँकी बागमती प्रदेश सरकारको अनुदान हुने गरी विसं २०७६ माघमा शीतभण्डार बनाउन ठेक्का लगाइएको थियो ।

शीतभण्डार भित्र सेल्फी कैद गर्दै अध्यक्ष गोपी कँडेल ।

अठार महिनामा काम सम्पन्न गर्ने गरी रु १९ करोड ९४ लाखमा रसुवा कन्स्ट्रक्सनले जिम्मा लिएकामा निर्माण कम्पनीले लामो समयसम्म काम नगरेपछि प्रालि आफैँले निर्माण गरेको हो । तोकिएको समयमा काम सम्पन्न नहुँदा प्रदेश सरकारले लगाएको ठेक्का रकममा प्रालिले थप झण्डै दश करोड लगानी थप गरेर शीतभण्डार तयार गरेको हो ।

निर्माण गरिएको शीतभण्डार अमेरिकन प्रविधिमा आधारित छ । किसानले राख्ने सामग्रीमा बिमाको व्यवस्था गरिएकाले भण्डार गरिएका वस्तु सतप्रतिशत सुरक्षित रहने अध्यक्ष कँडेलले बताउनुभयो । शीत भण्डार निर्माण सम्पन्न भए पनि सञ्चालन भने भैसकेको छैन ।

हाल नुवाकोटमा सञ्चालित शीतभण्डारहरू पाँच हजार मेट्रिकटन क्षमताकोमात्र रहेकोमा यो भने छ हजार मेट्रिकटन क्षमताको रहेको छ । नुवाकोटमा उत्पादित आलु, तरकारी, फलफूललगायत सामग्री राख्न चाहने किसान र व्यवसायीहरूका लागि यस शीतभण्डारले सहज बनाइदिएको छ । किसानहरूले शीतभण्डारमा सेवा प्राप्त गर्दा सहुलियत समेत प्राप्त गर्नेछन ।

जिल्लामै निर्माण भएका कतिपय शीतभण्डारले राज्यको करोडौँ अनुदान कुम्लयाएर किसानलाइ ठगेको र उनीहरूले राखेको सामनहरू समेत कुहाइदिएको आरोपहरू लागिरहेको समयमा अमेरिकन प्रविधिमा बनेको अत्याधुनिक शीतभण्डारबाट किसानहरूले महत्वपूर्ण लाभप्राप्त गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार १३:२५