१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

बलात्कार, बलात्कार अनि हत्या ! कता जाँदै छ नेपाली समाज ?

-शैलेन्द्र थापा

अखबारका पाना भरिएका छन् ,अनलाईनका भित्ता रंगिएका छन् अनि टेलिभिजनका पर्दा र सामाजिक संजालमा जताततै छरपष्ट छ -बलात्कार, बलात्कार अनि बलात्कार पछि हत्याका मानव सभ्यता र सभ्य समाजलाई नै कलंकित पार्ने समाचार सामाग्रीले ।

कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्त बलात्कार र हत्या प्रकरणले सम्पूर्ण क्षेत्र तातिरहँदा कञ्चनपुर वेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि अपहरण शैलीमा घरबाटै लगेर ४ जनाले बलात्कार गरे । सप्तरी स्थित कञ्चनरुप नगरपालिका ४ का २५ वर्षिय गजेन्द्र शाह सोनारले आफ्नै ६ वर्षीया भतिजी बलात्कार गरेर फरार छन् ।

ललितपुर हरिसिद्धीमा १५ वर्षिया वालिकालाई बन्धक बनाएर रिङरोड चल्ने बसका चालक तथा सहचालकले बलात्कार गरेको धेरै समय भएको छैन भने रौतहटमा एक १३ वर्षीया वालिकालाई बन्धक बनाएर २ महिनासम्म बलात्कार गर्ने गुजरा नगरपालिका जंगल सहियाका ३६ वर्षका वालिष्टर चौधरी, २४ वर्षका धमेन्द्र चौधरी र १९ वर्षका जियालाल महतो पक्राउ परेका छन् ।

यस्ता घटनामा भर्खरका अवोध बालिका गम्भिर रुपमा पीडित बन्दै आएका छन् । भने भर्खर जन्मिएका वालिका समेत अपराधीको निशानामा परेका छन् । यसको पछिल्लो उदाहरण हो महोत्तरीको घटना जहाँ औरही नगरपालिका १ मा संचालित सिद्धान्त फेन्सी स्टोरका संचालक सन्तोष चौधरीकी आठ महिने छोरीको अपहरण पछि हत्या भएको छ ।

बालिकाहरु न घरमा, न विद्यालयमा नै सुरक्षित छन् । वुटवल स्थित ज्ञानकुञ्ज बोर्डिङ स्कूलका प्रिन्सिपल तोयाराम पौडेल आफ्नै स्कूलकी छात्रामाथि यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् । उता कैलालीमा आफ्नै मामाको छोरीलाई बलात्कार गरेको आरोपमा घोडाघोडी नगरपालिका ६ का ३२ वर्षिय हरीषबहादुर कुँवर पक्राउ परेका छन् भने आफ्नै होटलमा काम गर्न राखेकी वालिकालाई बनेपा चारदोवाटोस्थित अरनिको मिठाई पसलका संचालक रामशरण हुमागाईले घर पु¥याई दिने वहानामा अन्यन्त्रै लगेर बलात्कार गरे । वालिका बलात्कार र शंकास्पद मृत्यु घट्दो होईन बढ्दो क्रममा छ ।

त्यसैको निरन्तरता विन्ध्यावासिनी माध्यमिक विद्यालय पोखरामा कक्षा ६ मा अध्ययनरत वालिका पुष्पा के.सी.को शंकास्पद मृत्यु भएको छ । यसलाई हत्याको आशंका गरिएको छ भने ढोरपाटन माध्यमिक विद्यालय १० कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मीता लामिछाने फेवातलाको किरानामा मृत अवस्थामा फेला परेकी छन् । नचिनेका व्यक्तिबाट जबरजस्ती र हत्या एकातिर छ भने वालिकाहरु आफ्नैबाट समेत असुरक्षित छन् । आफ्नै १० वर्षीया छोरी बलात्कारको आरोपमा ललितपुर बाँडे गाउँका एक व्यक्ति पक्राउ परेका छन् ।

यस्ता बलात्कार र हत्याका घटना यसरी वृद्धि भईरहेका छन् की पछिल्लो ३ वर्षमा मात्रै देशभर झण्डै ४ हजार महिला बलाकृत भएका छन् भने २ हजार माथि बलात्कारको प्रयास भएका छन् । अवोध बालवालिका घर देखि विद्यालयसम्म र सडक देखि कार्यक्षेत्रसम्म असुरक्षित हुँदै गईरहेका छन् । यस्ता कति बलात्कारका घटना सतहमा नै आउँदैनन् भने कतिपय आउन चाहदैनन् । बलात्कारको घटना बृध्दि भएको हो कि सतहमा आउन थालेको हो भन्ने कुरा वीच विचार विमर्श जरुरी छ र यस्ता अपराधका घटनामा प्रतिकार गर्न नसक्ने, कमजोर, सामान्य कुराले फकाउन सजिलो हुने भएकाले पनि वालिकाहरु बढि पीडित हुँदै आएका छन् । देशभर भएका बलात्कार र हत्याको यो डरलाग्दो श्रृंखला र माथिको केही उदाहरणमात्र हेर्ने हो भने छोरीचेली र विशेष गरी कलिला वालिकाहरु बढि असुरक्षित छन् भन्ने देखाउछ । छोरीलाइ संस्कारी बन्न दवाव दिने घरपरिवारले छोरालाई कहिल्यै मर्यादाको पाठ सिकाएको छ कि छैन ?

यसको जड हाम्रो घर र समाजमा व्याप्त छोराछोरी बीचको भेदभाव हो कि वा बढ्दो विज्ञान प्रविधि र इन्टरनेटले यसलाई थप बल पु¥यायो ? यो गम्भिर विषय हो । अवोध वालवालिका माथि जसले बलात्कार गरेका छन् । के तिनीहरुको यौन चाहना साच्चै पुरा हुन्छ वा यो मानसिक रोगको उपज हो ? वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. पुष्पप्रसाद शर्माको भनाइलाई आधार मान्ने हो भने यो आपराधिक मानसिकताको उपज हो जसले बलात्कारको घटनामा वृद्धि भईरहेको छ । धेरै बलात्कार यौन चाहना नै नभएको बरु मानसिक विकृती र मासिक कुण्ठा भएको डा. शर्माको ठम्याई छ । बलात्कारी अपराधी हो तापनि यसको मानसिक पाटो पनि उत्तीकै महत्वपूर्ण रहेको र महिलाप्रतिको हिंसात्मक सोच, सामाजिक मान्यता तथा त्यसको सम्पूर्ण दोष महिलामाथि थोपर्ने प्रवृती र समाजिक बन्धनका कारण भित्रभित्रै मिलाउने सोचले समेत बलात्कारीको मनोवल बढेको र त्यस किसिमको मानसिकता विकास भएको तथ्यमा बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. पुष्पप्रसाद शर्मा जोड दिन्छन् ।

वास्तवमा बत्तिस लक्षणयुक्त बुहारी चाहिने समाजले छोरीको चाही आवश्यकता महसुस गर्न सकेको छैन । खासमा बुहारी चाहिएको छ तर छोरी होइन अनि गर्भमा रहेका भ्रुणको लिङ्ग पहिचान गरी छोरी भए पतन गराउने पापी सोचका व्यक्ति कन्या पुजा गर्न छिमेकमा धाउने प्रकृतिको अन्त्य उत्तिकै जरुरी छ । छोरी बोझ ठान्ने समाजले छोराले गल्ती गरेर सजिलै ढाकछोप हुने तर कुनै पुरुषको हिंसात्मक शिकार भएका महिलाले भोग्नुपर्ने सामाजिक, पारीवारिक विचलनले सधैं महिलालाई दोश्रो दर्जाको नागरिक ठान्यो ।

घरपरिवारले छोरी भएर धेरै बोल्न नहुने, संस्कारी बन्नुपर्ने दवावमा राख्यो तर खुल्ला समाजमा छोरीहरुको अधिकारलाई मजाकको विषय बनाउँदै गयो, जसले गर्दा छोरीहरु आजपनि असुरक्षित छन् । हरेक दिनजस्तो भएका बलात्कारको घटनामा हाम्रो सामाजिक सोच, कुरीती र कुसंस्कार कति दोषी छ भनेर अब सोच्ने हो की ? कतिपय अवस्थामा अर्काको घरमा कामगर्न राखिएका किशोरीहरु हिंसाको शिकार भएका छन् । छोरीलाइ बोझको रुपमा लिई अरुको घरमा काम गर्न पठाइन्छ की ? यसको आफ्नै कथाव्यथा छ । त्यसैले सोच परिवर्तन तत्काल जरुरी छ अनि यौन हिंसा र बलात्कारी माथि हदैसम्मको कारवाही पनि ।

यो एक्काइसौ शताब्दीको समय र समाजमा मानव भन्न पनि लाज लाग्ने गरी नेपाली समाज कता जाँदै छ र हाम्रा छोरी चेली कहिले सुरक्षित हुन्छन् ? घरबाट बाहिर निस्कन नहुने जंगली युगको वास्तविक यथार्थ आजको समाजमा सुहाउने कुरा हुदै होइन । त्यसैले परिवर्तन जरुरी छ । सोच बदलौं, समाज बदलौं ।

लेखकः सशस्त्र प्रहरी निरीक्षक हुन् । उनलार्इ फेसबुकमा भेट्न सकिन्छ । 

प्रकाशित मिति : ११ पुष २०७५, बुधबार १३:०५