१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढ्दो

१२ कात्तिक, सुनसरी । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण बाजाको रुपमा लिने गरिन्छ ।

पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजालोप हुँदै गए पनि धरानमा चाडवाडको बेला भएपनि मादलको बिक्री बढ्ने गरेको छ । धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आउनुभएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्रि बढेको बताउनुहुन्छ ।

विगत १५ वर्षदेखि मादलसँगै खुकुरीको व्यापार गर्दै आउनुभएका अधिकारीले आफ्नो पसलमा एक हजार पाँच सयदेखि रु पाँच हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मादल कहिले धेरै बिक्री हुने त कहिले बिक्री नै नहुने समस्या छ । तर, तिहारको समयमा राम्रै बिक्री हुन्छ । एकै दिनमा आठ देखि १० वटासम्म बिक्री हुने गरेको छ ।”

उहाँकाअनुसार लक्ष्मी पुजाको दिनदेखि मादल बेच्न भ्याईनभ्याई हुन्छ । हाल उहाँले भोजपुर, धनकुटा साथै पश्चिममा बनाइएका मादलहरु बिक्री गर्दै आउनुभएको छ ।

धरान उपमहानगरपालिका–२ छाता चोकका सुमन चौधरी अरु समयको तुलनामा तिहारमा मादल धेरै बिक्री हुने गरेको बताउनुहुन्छ । विगत २० वर्षदेखि उहाँले मादलसँगै गितारलगायतका बाद्यवादनको व्यापार गर्दै आउनुभएको छ ।

उहाँले भन्नुभयो, “आधुनिक परिवर्तनसँगै चाडपर्व र सांस्कृतिक कार्यक्रममा गीत सङ्गीत, आधुनिक वाद्यवादन प्रयोग गर्न डिजिटल साउण्ड सिस्टम प्रयोग गर्नेहरु पनि अहिले मादल किन्न खोजी गर्दै आउने गरेका छन् ।” तिहारमा देउसी भैलो खेल्ने सांस्कृतिक टोलीहरूले बढी मादलको खरिद गर्ने गरेको उहाँको भनाइ छ । तिहारमा ३० देखि ४० वटासम्म मादल बिक्री हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अरु समयमा महिनामा २÷४ वटा मात्र बिक्री हुने गरेको मादल तिहारको समयमा मात्र रु एक लाख बढीको बिक्री हुने गरेको छ ।”

भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर, बेलटारलगायतका ठाउँमा मादल बिक्री गर्न जाने गरेको बताउँदै उहाँले पसलमा रु तीन हजारदेखि रु आठ हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताउनुभयो ।

विगत नौ वर्षदेखि मादलसँगै खुकुरी बेच्दै आउनुभएका इटहरी उपमहानगरपालिका–६ का भेषराज अधिकारील तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताउनुभयो । उहाँकाअनुसार विशेषगरी सुनसरी र पूर्वी पहाड पाँचथर, तेह्रथुमलगायतका विभिन्न सहर र गाउँमा मादलको धेरै माग हुने गरेको छ ।

प्रकाशित मिति : October 28, 2024 at 9:12 am