८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका १०० दिन, ५५ उपलव्धी

८ कातिक, काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आफ्नो कार्यकालका एक सय दिनमा ५५ उपलव्धी हाँसिल भएको विवरण सार्वजनिक गर्नु भएको छ । बिहिबार मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा उहाँले आफ्नो सय दिनको उपलव्धी विवरण सार्वजनिक गर्नु भएको हो ।

एक सय दिनका लागि निर्धारित १० कामका क्षेत्रका किटान गरिएको लक्ष्य मध्ये ८ ओटा लक्ष्य पूरा भएको र एउटा पूरा हुने चरणको अन्तिम अवस्थामा रहेको जनाईएको छ ।

‘पुननिर्माणको जिम्मेवारीबाट सरकार पछि हट्दैन’

वर्षात र बाढीको प्रकोपका कारण सिर्जित आपत्तकालिन सडक तथा यातायात व्यस्थापनको कार्यमा लाग्नु परेकाले सवै लक्ष्य पूरा गर्न कठिन भएको मन्त्री दाहालले उल्लेख गर्नु भयो ।

वर्षा र बाढीका कारण क्षतीग्रस्त संरचनाहरुको पुननिर्माणका लागि थप १५ अर्व १६ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । ति संरचना निर्माणका लागि विभिन्न दातृसंस्था तथा निकायहरुसँग छलफल भई रहेको समेत मन्त्री दाहालले बताउनुभयो । तर दातृनिकायहरुको मात्र नपरि मन्त्रालयले आफ्नै श्रोतबाट भए पनि पुननिर्माण कार्यलाई अघि बढाउने उहाँको भनाई छ ।

नीतिगत र कानूनी कार्यहरु प्राथमिकतामा

मन्त्रालयले यस सय दिनको अवधीमा सरकारले नीतिगत र कानूनी कार्यहरुलाई समेत प्राथमिकतामा राखेको मन्त्री दाहालले बताउनुभयो । नीतिगत, सुशासन र कानूनी सुधार तर्फ सय दिनको अवधीमा ७ उपलव्धि प्राप्त भएका छन् ।

राष्ट्रिय सडक सुरक्षा विधेयकको अवधारणापत्रमा सहमतिका लागि अर्थमन्त्रालयमा पठाउने, डिप्लोमा ईन्जिनियरीङ् परिषद गठन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा राय सहमतिका लागि अर्थमन्त्रालयमा पठाउने लगायतका काम यस अवधीमा भएका छन् ।

यस्तै मन्त्रालयले गठन गरेको कार्यदलले ३ नीति, १० ऐन, १० नियमावली, १३ मापदण्ड, ४ निर्देशिका, ५ गुरुयोजना र ५ कार्यविधिलाई संशोधन वा नयाँ निर्माण गर्नु पर्ने गरि पहिचान समेत गरेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १७:०२