५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

अमेरिका विरुद्धको टी-२० सिरिजमा नेपालको ‘क्लिन स्विप’

५ कात्तिक, काठमाडाैँ । अमेरिका विरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले क्लिन स्विप गरेको छ । सोमबार बिहान भएकाे तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिज क्लिन स्विप गरेको हो ।

नेपालले अमेरिकाले दिएको १५७ रनको लक्ष्य १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ५० रन बनाए । ३९ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, कुशल मल्लले ४४ र कुशल भुर्तेलले ४० रन बनाए । ३० बल खेलेका मल्लले ४ चौका र १ छक्का प्रहार गरे । ३२ बल खेलेका भुर्तेलले २ चौका र १ छक्का प्रहार गरे । यस्तै, अनिल शाहले १३ रनको योगदान गरे ।

टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५६ रन बनाएको थियो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले सर्वाधिक ६८ रन बनाए । ५० बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै, मिलिण्ड कुमारले ३५ बलमा नटआउट ४३ रन बनाए । आरोन जोन्स १३, श्याम जाहाङ्गिर ९, कप्तान मोनाङ्क पटेल २ र आन्ड्रिज गौस २ रन बनाएर आउट भए । यस्तै, हर्मीत सिंह १० रनमा नटआउट रहे ।

सोमपाल कामीले नेपालका लागि सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २७ रन दिएर ३ विकेट लिएका हुन् । यस्तै, रिजन ढकाल र लिलित राजवंशीले समान १/१ विकेट लिए ।

अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो । टी–२० शृङ्खलापछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार ०९:२१