२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एमाले मुख्यालय जग्गादाता मीनबहादुर गुरुङले नै निर्माण गरिदिने

२५ असोज, काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कार्यालयका लागि काठमाडौँको कीर्तिपुर नगरपालिकामा १० रोपनी १४ आना जग्गा दान दिनुभएको भटभटेनीका संचालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले नै भवन पनि निर्माण गरिदिनुहुने भएको छ।

उहाँहरूले पार्टी कार्यालयको लागि भवन निर्माण गरिदिएर एक वर्षभित्र भवन निर्माण गरेर एमालेका लागि हस्तान्तरण गर्ने जानकारी दिनुभयो । शुक्रबार गुरूङद्धयले दान गर्नुभएको जग्गामा प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले भवनको शिलान्यास गर्नुभयो ।

कीर्तिपुर नगरपालिकाको वडा नम्बर २  मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन सम्पूर्ण खर्च गुरूङद्धयले नै व्यहोर्नुहुनेछ । उहाँहरूले यसअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक भवन पनि निर्माण गरेर हस्तान्तरण गर्नुभएको थियो । व्यवसायसँगै दानमा समेत नाम कहालउनुभएका गुरूङद्धयले यसअघि अन्य राजनीतिक पार्टीलाई पनि सहयोग गरेको बताउनुभयो ।

उहाँले आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको पनि बताउनुभएको छ । एमालेले यसअघि पार्टी कार्यालय निर्माणका लागि भनेर कार्यकर्ताबाट उठाइरहेको एक सय रूपैयाँ दरको सहयोग भने बचत हुने भएको छ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार १७:२८