दाङ बस दुर्घटनाप्रति नेकपाद्धारा दुःख व्यक्त
६ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ दाङमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
आज साँझ एक वक्तव्य जारी गर्दै उहाँले शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षकको मृत्यु भएको घटनाप्रति आफू र सिङ्गो पार्टी मर्माहत भएको जनाउनुभएको छ ।
अध्यक्ष दाहालले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले सवारी दुर्घटनाबाट भइरहेको जनधनका क्षति न्यूनीकरण गर्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।
सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा दुर्घटना हुँदा तीन महिलासहित २२ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार मृतकको शव घटनास्थलबाट ल्याउने काम भइरहेको छ । गम्भीर घाइते ११ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । अन्यको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो । बस झण्डै सात सय मिटर तल भीरमा खसेको थियो । शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरी तुलसीपुर फर्कँदै थिए । बसमा ३४ विद्यार्थी र दुई शिक्षक सवार थिए ।
दुर्घटनामा परी जुम्ला तातोपानी गाउँपालिकाका १८ वर्षीया हिमाली हमाल, जुम्ला चन्दननाथ गाउँपालिका– ३ का १६ वर्षीय कशेन्द्र खत्री, दाङको घोराही उपमहानगरपालिका– १५ रतनपुरका १७ वर्षीया समीक्षा रोकाया, अछाम मङ्गलसेन नगरपालिकाका १८ वर्षीय विक्रम भण्डारी घाइते भएका छन ।
यस्तै रुकुमको त्रिवेणी गाउँपालिका–३ का १६ वर्षीय प्रेमबहादुर खड्का, दाङको घोराही उपमहानगरपालिका–१९ स्यूजाका १७ वर्षीया मेनुका रिजाल, जुम्लाको चन्दननाथ गाउँपालिका–२ का २० वर्षीय जीवन भण्डारी, चन्दननाथ गाउँपालिका– ४ का १६ वर्षीया पर्शा रोकाया, अछामको मङ्गलसेन नगरपालिकाका १९ वर्षीय युवराज ढुङ्गाना, रुकुम सानोभेरी गापा– ३ का १६ वर्षीया रोजिना पुन, दाङ घोराही उपनपा– १४ का १८ वर्षीय सञ्जय खनाल, रुकुम अर्माका १९ वर्षीय राजन डाँगी, अछाम मंगलसैन नगरपालिका–५ का भद्र बिष्ट र रोल्पाका १७ वर्षीय प्रकाश वली घाइते भएको इप्रका तुलसीपुरले जनाएको छ ।
प्रकाशित मिति : 23:03









