२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नक्कली दलालले युएई पठाइदिने भन्दै १८ लाख लिएर भागेपछि मोरङका १२ युवा अलपत्र

६ पुस, सप्तरी । नक्कली दलालले युएई पठाइदिने भन्दै १८ लाख लिएर भागेपछि मोरङका १२ युवा अलपत्र परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का अशोककुमार मण्डलले गएको मंसिर ८ गते विदेश पठाउन भनेर काठमाडौँ बोलाए पनि नउडाएर ठगेको भन्दै उनलाई खोज्दै १२ जना सदरमुकाम राजविराज पुगेका हुन् ।

मण्डलले प्रतिव्यक्ति १ लाखको दरले पैसा लिएको उनीहरुले बताएका छन् । चार पटकसम्म काठमाडौँ बोलाएर होटलमा बस्न लगाएपनि दलाल सम्पर्कमा नआएको तथा आफूहरुसँग भएको पैसा सकिएपछि घरबाट पैसा मगाएर काठमाडौँबाट फर्किनु परेको युवाहरुको भनाई छ ।

ठगीमा परेका युवाको साथमा दलाललाई विभिन्न बैंकमार्फत पैसा पठाएको कागजपत्र समेत रहेको र दलालसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र राजविराजले जनाएको छ । यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई समेत लिखित निवेदन दिन लगाएर न्यायको लागि पहल थालिएको परामर्श केन्द्रका राजेन्द्र यादवले बताए ।

उनका अनुसार पीडितका विषयमा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरी गाउँपालिकालाई पनि जानकारी गराएको र आवश्यक कानूनी कारवाही प्रक्रिया अघि बढाएको छ ।

प्रकाशित मिति : 18:52