३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

समाजवादी क्रान्तिको विचार तयार पार्न आग्रह

५ चैत, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको आधार तयार गर्न आवश्यक विचार निर्माणका लागि बुद्धिजीवीसँग आग्रह गर्नुभएको छ ।

नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उहाँले वस्तुगत र आत्मगत अवस्था तथा राष्ट्रिय अन्तर्रा्ट्रिय अवस्थालाई मनन गरेर समाजवादी एवं क्रान्तिकारी विचार निर्माण गर्नुपर्ने बताउँदै भन्नुभयो, “वामपन्थी एकतामा बुद्धिजीवी अतिवाद हावी छ, एउटाले विचारको विकास गर्नुहुन्न, विचार र सिद्धान्त पूर्ण छ भन्छ, अर्काेले केही पनि भएको छैन र हतियार उठाउनुपर्छ भन्छ । “यी दुवै द्वन्द्वात्मक भौतिकवाद विरोधी विचार हुन् ।”

क्रान्तिका कैयौँ कार्यभार बाँकी रहेकालेसमाजवादी क्रान्तिको नयाँ कार्यभार पूरा गर्ने लक्ष्यका साथ एउटै बलियो कम्युनिष्ट केन्द्रको घोषणा गरिएको स्पष्ट पार्दै नेकपा(एमाले) र आफ्नो पार्टीबीच हुन लागेको एकतामा वैचारिक पक्ष निकै महत्वपूर्ण हुने भनाइ राख्नुभयो । “नेपाली जनताले आफ्नो व्यावहारिक जीवनमा परिवर्तन महसुस नगरेसम्म हामीले सबैथोक पाइसक्यौँ भन्न मिल्दैन”, उहाँले भन्नुभयो ।

बैठकमा संगठनका इञ्चार्ज दीनानाथ शर्मा र केन्द्रीय अध्यक्ष नरेश भण्डारीलाई सम्मान गरिएको थियो । नेता शर्मा राष्ट्रियसभा सदस्यमा निर्वा्चित हुनुभएको छ भने भण्डारी कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त हुनुभएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार २०:१५