१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

१० वर्षीया बालिकाको बलात्कारपछि ढुंगाले हानेर हत्या गर्ने कुसुम पौडेललाई जन्मकैद

४ पुस, पोखरा । कास्कीकी १० वर्षीया बालिका श्रेया सुनुवारलार्इ बलात्कारपछि ढुंगाले हानेर हत्या गर्ने स्याङजाका कुशुम पाैडेललार्इ जन्मकैद भएको छ । उनी जीवनभर जेलमै सड्ने पहिलो बलात्कारी समेत बनेका छन । जिल्ला अदालत कास्कीले १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्यामा दोषी ठहर गर्दै  कुसुम पौडेललाई आजीवन कैदको फैसला सुनाएको हो।

न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलासले बुधबार स्याङ्जा स्थायी घर भई पोखरा– २२ पुम्दीभुम्दी बस्दै आएका २७ वर्षीय पौडेललाई जीवित रहेसम्म थुनामा राख्न आदेश दिएको कास्की जिल्ला अदालतका श्रेस्तेदार जगन्नाथ पौडेलले दैनिकीलार्इ जानकारी दिए । मुलुकी संहिता २०७५ मा बलात्कारपछि हत्यामा दोषीलाई जीवित रहेसम्म कैद गर्ने व्यवस्था भएअनुसार अदालतले पौडेललाई जीवित रहेसम्म कैद गर्न आदेश दिएको हो । अदालतले कुसुमलाई मंसिर १७ गते दोषी ठहर गरेको थियो । १० वर्षीया बालिका श्रेयाको असोज ९ गते हत्या भएको थियो ।

अघिल्लो दिनदेखि नै साथीहरुसँग मिलेर जाँडरक्सी खाएर बसेका कुसुमले असोज ८ गते साँझ साढे ५ बजेतिर बिस्कुट किन्न पसल गएकी श्रेयालाई चकलेट खाउ भनी ५ रुपैयाँ दिएको र फेरि अलि तल पुगेपछि १० रुपैयाँ दिन्छु भनि बोलाएर जबर्जस्तीको प्रयास गरेका थिए ।

जबजस्ती गर्न खोज्दा बालिकाले प्रतिकार गर्दै चिच्याउन थालेपछि झाडीमा धकेलेर दुवै हातले घाँटी थिचेको पौडेलले प्रहरीसमक्ष बयान दिएका थिए । बालिका बेहोस भएपछि कुसुमले ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रकाशित मिति : December 19, 2018 at 10:23 pm