२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

बालुवा तस्करले गराउँछन प्रहरीको सरूवा, गृहमन्त्री पुत्रलेनै परिचालन गर्छन दलाल

५ पुस, काठमाडाैँ । मन्त्रीमात्र सोझा भएर नहुँदोरहेछ, दायाँबायाँका मान्छे खराब भएपछि । गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकले आफूले नभ्याएर मान्छेहरुलाई ‘दलाल’ बनाई ठाउँ–ठाउँमा पठाउन थालेपछि प्रहरीहरु दिक्क भएका छन् । एकजना छन्, उत्साह चन्द । टंगालमा एटिक रेष्टुरेण्ट चलाउने । उनी प्रतीकको दूत बनेर दिनभरि टेकुस्थित प्रहरी परिसरमा पुग्छन् । आएका ठुल्ठूला मुद्दा मिलाउनेदेखि पोष्टिङ चाहिएका प्रहरीसम्मलाई त्यतै भेट्छन् र प्रतीकमार्फत काम मिलाइदिने भन्दै बैना पनि त्यहीँ बुझ्छन् । आजको जनआस्थाले समाचार लेखेको छ ।

प्रतीकको बास हुने दुई ठाउँ, एउटा दरबारमार्गस्थित किङ्स लाउञ्ज । त्यो म्याच फिक्सिङमा मुछिएका अञ्जन थापाले चलाएका हुन् । अहिले पनि प्रहरीको निगरानीमा छन् । तर, गृहमन्त्रीको छोरो त्यहीँ पुगेर, प्रहरीलाई फोन गर्दै ‘मेरो सुरक्षाका लागि एउटा टोली बाहिर खटाइदिनु’ भन्न भ्याउँछन् । अपराधीलाई निगरानी गर्नु कि मन्त्रीको छोरालाई ? प्रहरीहरु तनावमा छन् । अर्को हो, एटिक लाउञ्ज र सँगै रहेको नीलगिरी थकाली भान्साघर । त्यहाँ प्रहरी हेडक्वार्टरभित्र काममा लागेका प्रहरी अधिकृतहरुलाई बोलाएर कहिलेकाँही त लाइन नै लगाउँछन् । जस्तो कि, नुवाकोटका एकजना क्रसर व्यापारी केही दिनदेखि नक्सालमा बाक्लो आवत–जावत गर्दै थिए ।

पहिल्यै त्यहाँका एसपी बसन्त कुँवरलाई तानेर अर्को, सजिलो एसपी पठाउने ती व्यापारीको माग थियो । उनले पैसा दिइसकेका थिए । तर, प्रतीकले बस्याल थरका एसपीलाई पठाउन सकेनन् । गृहसचिवलाई फोन गरेर व्यापारीलाई ह्याण्ड्स फ्रिमा सुनाए । सचिवले ‘मलाई हैन, मन्त्रीज्यूलाई भन्ने हो । म यस्तो काम गर्दिनँ’ भनेपछि फोन काटे । आइजीले पनि त्यसै गरी फोन गरे । आइजीले ‘मन्त्रालयमा भन्नुपर्छ, उताबाट गर्नु भनेर गरिदिन्छु’ भने । तर, काम भएन । अहिले शान्ति प्रक्रियाको बेला अनमिनमा बसेर काम गरेका कारण गृहमन्त्री बादलसँग पनि राम्रै सम्बन्ध बनाएका कृष्ण पल्ली मगर नुवाकोट पठाइएर बसन्त तानिएका छन् ।

कृष्ण पल्लीलाई त्यहाँ पठाउनु केही दिनअघिको दृश्य हो यो, पुलिसको जागिर खाने, थकाली भान्साघरमा समय कटाउने दैनिकी थियो । उता, गाडीका सिण्डिकेट तोड्ने गृहमन्त्रीको घोषणा छ । तर, बुटवलतिर गयो भने देखिन्छ, पश्चिम नेपाल बस व्यवसायी समितिका पदम गाहामगर मन्त्रीपुत्रको नाममा प्रहरीलाई तनाव दिइरहेका हुन्छन् । यतिमा यो पोष्टिङ, उति कोशेलीमा त्यो पोष्टिङ भन्दै दिन कटाइरहेका हुन्छन् । खासमा प्रतीकले पदम गाहाका दाइकी छोरी विवाह गरेका हुन् र उनलाई ज्वाइँ भन्छन् ।

अहिले थकाली भन्साघरमा एसपीबाट एसएसपी हुने व्याचका प्रहरीहरु जम्मा पार्नमा व्यस्त छन् । दरबन्दी थप आउने भयो भने केही समयपछि र अहिले खाली रहेकै दरबन्दीमा गर्नुपर्ने भयो भने आजभोलि नै एसएसपी बढुवाको प्रक्रिया शुरु हुँदैछ । त्यो व्याचमा गृहसचिवको तर्फबाट टेकप्रसाद राई र आइजिपीको तर्फबाट श्यामलाल ज्ञवाली एक नम्बरका प्रतिस्पर्धी हुन् । यो व्याचको महत्वपूर्ण किन पनि छ भने, अहिले जो एक नम्बरमा एसएसपी हुन्छ, उही तीन व्याचपछि आइजिपी पनि हुन्छ । भान्साघरमा अहिले प्रतीक एसपी बुद्धि गुरुङहरुलाई लाइन लगाएर बसेका छन् ।

केही दिनअघि कार्यालयभित्रै संगठन नै लज्जित हुने गतिविधि भएको भनी पुल्चोककी इन्स्पेक्टर चेतना पोखरेल हटाइन् र माधव केसी पठाइए । चेतनालाई रोक्न प्रतीकले अनेकथोक भने । तर, आइजीले टेरेनन् । चेतना महिला सेलमा सरुवा भइन् । यसरी बाबु मन्त्री, छोरा आदेश गर्ने अवस्था छ, प्रहरीहरु हैरान भएका छन । जनआस्था साप्ताहिकमा अाज प्रकाशित समाचार साभार गरिएको–सम्पादक। 

प्रकाशित मिति : 20:27