काठमाडौँमा पाकेटमारको बिगबिगी, ४ महिलासहित समातिए ७७ चोर
४ पुस, काठमाडौँ । काठमाडौँमा पाकेटमारको बिगबिगी रहेकाे छ । प्रहरीले काठमाडौँ उपत्यकामा चोरी र लुटपाटमा संलग्न भएको आरोपमा ७७ जनालाई पक्राउ गरेको छ । महनगरीय प्रहरी परिसर काठमाडौँले उपत्यकामा पछिल्लो १५ दिनभित्र चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा ४ महिलासहित ७७ जनालाई पक्राउ गरेको हो, जसमा १ बच्चाकी आमा समेत पक्राउ परेकी छन् ।

काठमाडौँका सार्वजनिक सवारी साधनमा लुटपाट गर्नेदेखि विभिन्न सार्वजनिक स्थल र घर तथा आवासीय क्षेत्रमा समेत उनीहरुको संलग्नता रहेको प्रहरीले बताएकाे छ । काठमाडाैँमा चोरी र लुटपाटमा संलग्न उक्त गिरोहले २–२ जनाको दरले ६ जनाको समूह बनाई सार्वजनिक बसहरुमा यात्रारत यात्रुहरुबाट नगद, पैसा, गहना लुटपाट गर्ने गरेको समेत प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटप, सुनचाँदीका गहना, नक्कली पेस्तोल, चक्कुलगायतका सामानहरु समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ । पहिलोपटक पाकेट मार्नेलाई १ महिना जेल र सोही बराबर बिगो, दोस्रोपटक पकेट मारेको भेटिएमा २ महिना जेल र सोही बराबर बिगो कार्वाही हुने प्रहरीले जनाएको छ ।

सार्वजनिक सवारी साधनहरुमा चोरी गर्दा यस्ता सांकेतिक भाषा बाेल्छन् चाेरहरू
पाकेटमारहरूले पैसालाई द, मोबाइललाई कान, पकेटमारी पीडित– रामे, पकेटमारी गर्ने (मास्टर) काशी, पैसा धेरै भएको यात्रु देखिएमा टानको द, पैसा थोरै भएको यात्रु देखिएमा जुटको द भनेर सांकेतिक भाषाको प्रयोग गर्ने गरेको पाइएको छ ।
त्यस्तै उनीहरुले गाडीलाई काँचा, केटालाई छापा, केटीलाई भद्री, पुलिसलाई आयो ठूलदाई, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग्नलाई टप्की, गाडीभित्र अगाडि सर भन्यो भने अकल जा, गाडीभित्र पछाडि सर भन्यो भने चिछल जा भन्ने सांकेतिक भाषाहरु प्रयोग गर्ने गरेको प्रहरीको दाबी छ ।
प्रकाशित मिति : 17:16









