२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मक्का मदिनामा हज गर्न जाने इच्छुक व्यक्तिले पुस २३ गतेभित्र निवेदन दिनुपर्ने

४ पुस, काठमाडाैँ । गृह मन्त्रालयले साउदी अरबको मक्का मदिनामा हज गर्न जाने इच्छुक नेपाली मुस्लिम समुदायका व्यक्तिलाई तोकिएको समयभित्रै निवेदन पेश गर्न आह्वान गरेको छ । मक्का मदिना जान चाहनेले यही पुस २३ गतेसम्म जिल्ला प्रशासन कार्यालयमार्फत निवेदन दिन सक्ने नेपाल हज समितिको सचिवालयले जनाएको छ ।

गतवर्ष सन् २०१८ मा हज गर्न जान नपाएका हजयात्रीलाई प्राथमिकतामा राखी बाँकी आवेदकमध्ये पहिलो आवेदन गर्ने व्यक्तिलाई दोस्रो प्राथमिकता दिइने समितिले जनाएको छ । हज यात्रामा जान चाहनेले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सक्कलै राहदानी पेश गर्नुपर्नेछ । त्यस्तै हवाई टिकट र साउदी अरबमा लाग्ने घरभाडा, परिवहन खर्च, मौल्लिम दस्तुरबापत समितिको बैंक खातामा रु एक लाख २५ हजार जम्मा गरेको बैंक भौचरसहित पेश गर्नुपर्ने समितिले जनाएको छ ।

गत वर्ष हज यात्रा गर्न जान नपाएका ५४४ हजयात्रीले सन् २०१९ हज गर्न चाहेमा निजले रकम फिर्ता नलिएको खण्डमा एकप्रति फारम, भौचारको प्रतिलिपि र दुई प्रति फोटोका साथ आफू हज गर्न जान चाहने व्यहोरा उल्लेख गरिएको निवेदनका साथ जिल्ला प्रशासन कार्यालयमा पुनः निवेदन दिन सकिने समितिले जनाएको छ । गत वर्ष रु एक लाख जम्मा गरेका हजयात्रीले रु २५ हजार थप गर्नुपर्नेछ ।

प्रकाशित मिति : 08:28