१० माघ २०८१, बिहीबार | Thu Jan 23 2025

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न छिमेकी मुलुकको सहयोग आवश्यक छ: उड्डयनमन्त्री पाण्डे

२७ भदौ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न छिमेकी मुलुकहरूको बलियो साथ र सहयोगको आवश्यक रहेको बताउनुभएको छ ।

बुधबारबाट भारतको नयाँ दिल्लीमा सुरू भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को एसिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय दोस्रो सम्मेलन उद्घाटनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । साथै आइकाओ तथा अन्य सदस्य मुलुकहरूलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो-‘हाम्रा अन्तर्राष्ट्रिय विमानस्थलहरू अहिलेसम्म सर्टिफाइ भइ सकेका छन् । पोखरा र गौतमबुद्ध विमानस्थलको प्रभावकारी रूपमा सञ्चालन गर्न छिमेकी मुलुकको सहयोगको अपेक्षा गरेका छौं । यसबाट पनि हाम्रो नागरिक उड्डयन क्षेत्रको निरन्तर सुधारप्रतिको प्रतिबद्धता स्पष्ट हुनेछ।’

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार १३:४१