‘यूनिफिकेशन चर्च’को झण्डा बोक्नेलाई एमालेबाट सांसद् बनाएको भन्दै रावल फेरि आक्रोशित
१० माघ, अछाम । ‘मातृभूमि जागरण अभियान’ नेपालका प्रस्तावक डा. भीम रावलले ‘होली वाइन’का सूत्रधार तथा नेपाल परिवाद दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेबाट सांसद् बनाएको भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नैतिकतामाथि फेरि प्रश्न उठाउनुभएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले नेपालको संस्कृतिलाई ध्वस्त गरेर ‘यूनिफिकेशन चर्च’को झण्डा बोक्ने अर्को पार्टीका व्यक्तिलाई एमालेबाट सांसद् बनाएको भन्दै चर्को आलोचना गर्नुभयो ।

‘हामी दशैँ–तिहार मनाउँछौँ। टीका–भाइटीका लगाउँछौँ। तर नेपालको संस्कृतिलाई ध्वस्त बनाउन, सबै सिध्याउन लाग्नेको एकनाथ ढकालजस्तो व्यक्तिलाई ल्याएर केपी ओलीले सांसद् बनाए,’ उहाँले भन्नुभयो ।
त्यसो त अहिले पार्टीबाट निकालिएर बेग्लै अभियानमा लागेका रावलले ‘केपी ओली, एकनाथ वा होली वाइन’को प्रसंग पहिलोपटक उप्काउनु भएको होइन । उहाँले सुरूदेखि नै एउटा पार्टीको अध्यक्षलाई अर्को पार्टीबाट सांसद् बनाउने ‘अनैतिक रबैया’को विरोध गर्दै आउनुभएको छ ।
‘क्रिश्चियन धर्म प्रचारक’ ढकाललाई नेपालमा कतिपयले ‘होली वाइन’ भनेर पनि चिन्छन्। उनै विवादीत पात्रलाई एमालेले समानुपातिक निर्वाचनको बन्दसूचीमा खस–आर्य पुरुषतर्फ दोस्रो नम्बरमै राखी एमालेबाट सांसद्समेत बनाएको छ ।
प्रकाशित मिति : 13:38









