२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

क्यान्सर अस्पतालका कर्मचारी मनसुन नेपाल नक्कली प्रमाणपत्रको मुद्दामा दोषी ठहर

१० माघ, काठमाडाैँ । विशेष अदालतले बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनका कर्मचारी मनसुन नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । नेपालले अस्पतालमा जुनियर असिस्टेन्ट पदमा बढुवा हुनको लागि नक्कली प्रमाणपत्र बनाई पेश गरेका कारण भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

नेपालले गरेको नक्कली प्रमाणपत्र पेश गर्ने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर रहेको अदालतले ठहर गरेको छ । बिहीबार विशेष अदालतका न्यायाधीश टेक नारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजालशले नेपाललाई दोषी ठहर गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम ६ महिना कैद १० हजार रूपैयाँ जरिवानाको फैसला समेत गरेको छ ।

dainiki.com

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक महिना अघि अर्थात २०८१ पुस ७ गते मनसुन नेपालले बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जुनियर असिस्टेन्ट पदमा बढुवा हुनको लागि His Majesty’s Government of Nepal, Ministry of Education & Sports, Office of the Controller of Examinations बाट जारी भएको देखिने झुट्टा/नक्कली एस.एल.सी. (School Leaving Certificate Examination-Mark Sheet) को लब्धाङ्क पत्र र परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौंको नाम उल्लेख गरिएको झुट्टा/नक्कली चारित्रिक प्रमाण-पत्र पेश गरी जुनियर असिस्टेन्ट पदको सेवा, सुविधा र लाभ उपभोग गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार १५:३९