१० असार २०८३, बुधबार | Wed Jun 24 2026

जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

२६ भदौ, धनकुटा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा यहाँस्थित सरकारी कार्यालयका प्रमुखहरुसँग आज भएको बैठकमा उहाँले दुई ठूला दल मिलेर वर्तमान सरकार बनेकाले जनतालाई अनुभूति दिलाउने गरी जनताको काम छिटोछरितो सक्नेगरी गर्न निर्देशन दिनुभएको हो ।

“उच्च मनोवलका साथ जनताको काम चाँडो सम्पन्न हुनेगरी काम गर्नुहोस्, सरकार तपाईहरुको साथमा छ,”–उहाँले भन्नुभयो । वर्तमान सरकार स्थायी सरकार भएकाले कर्मचारीलाई ढुक्क भएर कार्यसम्पादन गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्री खड्काले पूर्वी पहाडी जिल्लाका समस्यालाई सम्बोधन गर्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जलस्रोत तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्यले कृषि र पर्यटनमार्फत धनकुटाको विकास सम्भव रहेको बताउनुभयो । उहाँले यहाँका कृषि उत्पादनलाई बजारीकरण गर्नसके यस जिल्लाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले ऊर्जा क्षेत्रको विकास भएमात्र देशको विकास हुने बताउनुभयो । उहाँले यहाँका बाँझो जग्गालाई सिँचाइ सुविधा पुर्याउन सके कृषिको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले धनकुटाको वर्तमान अवस्था र आगामी गर्नुपर्ने कामको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : September 11, 2024 at 5:13 pm