३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिका, यी हुन भ्रमण दलका सदस्यहरू

२१ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण अमेरिकामा हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री ओलीको न्यूयोर्क जाने कार्यक्रम स्वीकृत गरेको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्रीसहित प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीको निजी चिकित्सक डा दिव्या सिंह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयको सचिव सेवा लम्साल, सहसचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, उपसचिव प्रथमा उप्रेती, अधिकृतद्धय भुवन ओझा, प्रविण भट्टराई रहनुभएको छ ।

यस्तै भ्रमणदलमा प्रधानमन्त्रीको सुरक्षाकर्मी नेपाली सेनाका प्रमुख सेनानी दीवाकर खड्का, नेपाल प्रहरीका डिएसपी नविन कार्की, सञ्चारकर्मीमा प्रधानमन्त्रीका समाचार संयोजक समेत रहनु भएका राससका वरिष्ठ संवाददाता संयोजक प्रकाश सिलवाल, प्रधानमन्त्रीको निजी फोटोग्राफर दिनेश भण्डारी र नेपाल टेलिभिजनका क्यामरा पर्सन अनन्त चालिसे रहनुभएको छ । राष्ट्रसंघको महासभा यही भदौ २५ देखि असोज १२ गतेसम्म न्यूयोर्कमा हुँदैछ । प्रधानमन्त्री असोज ४ मा न्यूयोर्क प्रस्थान गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार ११:०५