२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

समाजवादी जात्राः हिजोसम्म महासचिव रामकुमार एलन आजबाट भ्रष्टाचारी ठहर

६ माघ, काठमाडौँ । नेपालको राजनीति वेथितिको आहालमा डुबेको छ । यहाँ इमान्दारहरू भन्दा पनि बेइमानी गरेर चलाख बनोकाहरू टिक्ने र बिक्ने गरेका छन । जसका कारण आज नराम्रो भनिएको पात्र भोलिनै राम्रो हुने र आज राम्रो भनिएको पात्र भोलि नै नराम्रो हुने जोडघटाउ र प्रचारप्रसार हुने गरेको छ ।

एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको जनवर्गीय संगठन समाजवादी प्रेस संगठनमा पनि यस्तै भएको छ । केही दिन अघिसम्म संगठनको लेटरप्याडमा महासचिवको हैसियतमा हस्ताक्षर गरेर अरूमाथि विभिन्न टिप्प्णी गरेर विज्ञप्ति निकालिरहनुभएका पत्रकार रामकुमार रिजाल (एलन) उक्त संगठनबाट पनि भ्रष्टाचारी ठहर हुनुभएको छ । संगठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले विज्ञप्ति मार्फत यस्तो ठहरको जानकारी दिनुभएको हो ।

एलनले आइतबार मात्रै आफूले माघ ३ गतेको मितिमा संगठनको महासचिवबाट राजिनामा दिइसकेको भन्दै सामाजिक सञ्जालमा राजिनामाको विवरण सार्वजनिक गर्नुभएको थियो । उहाँले राजिनामाको जानकारी दिए पनि अहिलेसम्म स्वयंले भने प्रेस चाैतारीमा प्रवेश गरेको उल्लेख गर्नुभएको छैन । यद्यपी चाैतारीका नेताहरूले उहाँले समाजवादी छाडेर चाैतारी प्रवेश गरेको भन्दै उत्सव मनाइरहेका छन । उहाँको राजिनामाको विवरण तल हेर्न सक्नुहुन्छ ।

एलनले फेसबुक मार्फत सार्वजनिक गर्नुभएको राजिनामापत्र ।

विशेष अदालतले २०८० साल वैशाख २१ गते नै भ्रष्टाचारी ठहर गरी १ लाख ८५ हजार ५ सय असुल गर्न आदेश गरेको थियो । तर २०८० को जेठमा भएको समाजवादी प्रेस संगठनको महाधिवेशनमा पार्टी अध्यक्ष माधवकुमार नेपालको इच्छा विपरित नै उम्मेदवार बनेर रामकुमार एलन उक्त संगठनको महासचिव बन्नुभएको थियो । एलनले १३९ मत प्राप्त गरी विजयी हुँदा उहाँको प्रतिस्पर्धी हृदय भुसालले १३० मत प्रप्त गर्नुभएको थियो ।

अदालतबाट भ्रष्टाचारी ठहर भैसक्नुभएको पत्रकार एलनलाई मतबाटै महासचिव निर्वाचित गरेको संगठनले आइतबार भने भ्रष्टाचारी ठहर भएको भन्दै विज्ञप्ति जारी गरेको छ । संगठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले एक विज्ञप्ति मार्फत संगठन छाडेर एमाले निकटको प्रेस चौतारी नेपालमा प्रवेश गरेका र प्रवेश गर्ने तयारीमा रहेका नेताहरूलाई गद्दारको अभियोग लगाएर कारबाही गर्दै विज्ञप्ति जारी गर्नुभएको छ । हिजोसँगै सँगै हुँदा महासचिव भनेर पुजिनुभएको एलन उक्त संगठनबाट राजिनामा दिएर बाहिरिएसँगै उहाँहरूकै लिखतमा भ्रष्टाचारी ठहर हुनुभएको छ ।

भएको के थियो ? 

२०७८ साल असोज १५ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फिलिङ्गो मिडिया प्रालिका सञ्चालक रिजालसहित टंकबहादुर मुक्तान, लोकबहादुर कुसारी, त्रिलोक थापामगर, मोहनप्रसाद पौडेल र सुजन श्रेष्ठका विरूद्धमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा फैसला गर्दै २०८० साल वैशाख २१ गते विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल र सदस्य बलभद्र बाँस्तोलाले रिजालसहित सबैलाई भ्रष्टाचारी ठहर गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

-नेकपा एसका नेता टंक मोक्तान र पत्रकार रामकुमार एलनविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

-समाजवादी प्रेस संगठनको अध्यक्षमा जगन्नाथ खतिवडालाई चक्मा दिँदै विश्वमणि सुवेदी विजयी

-माधवकुमार नेपाल निकट समाजवादी प्रेस संगठनका महासचिव रामकुमार एलन भ्रष्टाचारी ठहर

विशेषले त्यस समय २६ हजार ५ सय जरिवाना र एक लाख ५९ हजार बिगो गरी कुल १ लाख ८५ हजार ५ सय असुल गर्न विशेषले आदेश दिएको थियो । रिजाल राष्ट्रसेवक नभएका कराण भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को (४) भएको ‘राष्ट्रसेवक बाहेक अरू कुनै व्यक्तिले आफू वा अरू कुनै व्यक्तिलाई गैरकानुनी लाभ पु¥याउने बदनियतले नेपाल सरकार वा सार्वजनिक संस्था समक्ष गरेको शपथ, कबुलियत, सम्झौता, ठेक्का, लाइसेन्स, परमिट, प्रतिज्ञापत्र वा

डिलरशिपको शर्तपालना नगरेमा वा नेपाल सरकार वा त्यस्तो संस्थाले निर्धारित गरेको नियम वा कार्यविधि वा स्वीकार गरेको शर्त उल्लङ्घन हुने गरी प्रचलित कानुनद्वारा निषेधित तवरबाट व्यवसाय गरेमा वा सरकारी वा त्यस्तो संस्थाको सुविधा वा अधिकारको दुरूपयोग गरेमा निजलाई कसुरको मात्रा अनुसार दुई वर्षसम्म कैद वा बिगो बमोजिम जरिबाना गरी बिगो समेत जफत गरिनेछ ।’ व्यवस्था अनुसार कसुर ठहर गर्दै जरिवाना र बिगो असुल्न आदेश दिइएको थियो ।

शेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल र सदस्य बलभद्र बाँस्तोलाले जारी गरेको आदेशको भ्रष्टाचार ठहर भएको भनि उल्लेख गरिएको खण्ड ।

यद्यपी टंकबहादुर मुक्तान, लोकबहादुर कुसारी, त्रिलोक थापामगर, मोहनप्रसाद पौडेल र सुजन श्रेष्टलाई भने दफा १७ र दफा ३(१) र ३(१)ख बमोजिम तीन महिना कैद जनही २६ हजार ५ सय रूपैयाँ बिगो असुल्ने आदेश भएको थियो ।

अख्तियारले रिजाल लगायतको संलग्नतामा रु.२,६०,९००।- (अक्षेरूपी दुई लाख साठी हजार नाै सय रूपैयाँ) भ्रष्टाचार भएको ठहर सहित मुद्दा दर्ता गरेको थियो । आयोगले युवा क्षमता बिकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम संचालन गर्दा अनियमितता भएको ठहर गरेको थियो । उक्त तालिम दिनका लागि नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र उपमहासचिव डा विजय पाैडेल समेत मकवानपुरको मनहरी पुग्नुभएको थियो ।

प्रकाशित मिति : ६ माघ २०८१, आईतवार १८:५६