२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

प्रभु बैंकको खुद नाफा ८५.४९ प्रतिशतले वृद्धि

७ माघ, काठमाडौँ । प्रभु बैंकले ६ महिनामा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा बैंकको खुद नाफा ८५.४९ प्रतिशतले वृद्धि भएको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २३ पैसा बढेर ११ रुपैयाँ ३५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.३६ गुणा रहेको छ।

त्यस्तै सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। खुद ब्याज आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

dainiki.com

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.१८ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ११.१० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २५ करोड ७७ लाख रुपैयाँबाट घटेर ८१ करोड ४२ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ४५.९५ प्रतिशत बढेको छ।

२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ५४ करोड ४९ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार १८:५९