पर्सामा तस्कर र स्थानीयद्वारा प्रहरीमाथि आक्रमण, प्रहरी सहायक निरीक्षकसहित ४ प्रहरी घाइते, एककाे अवस्था गम्भीर
३ पुस,पर्सा । पर्सामा तस्कर र स्थानीयले प्रहरीमाथि आक्रमण गर्दा प्रहरी सहायक निरीक्षकसहित ४ जना प्रहरी घाइते भएका छन् भने एक जवानकाे अवस्था गम्भीर रहेकाे छ ।
करीब दुई सय जनाको संख्यका स्थानीयले जगननाथपुरमा रहेको प्रहरी चौकी घेराउ गर्दै प्रहरीमाथि आक्रमणमा उत्रिएका हुन् । दुईवटा मोटरसाइकलमा पेट्रोल र डिजेल लोड गरी भारतको इनर्वा बजार लग्ने समूहलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयकाे साथमा तस्कर र प्रहरीकाे झडप भएको हो । स्थानीय र तस्कर समूहको आक्रामणबाट प्रहरी सहायक निरीक्षक विष्णु देव यादव, जयकिशन महताे, प्रहरी हवल्दार प्रेम राना र जवान अर्जुन चौधरी घाइते भएका छन् ।

गएराती तीन बजेको समयमा नेपाल भारत सीमानाकामा पर्ने पर्साको जगननाथपुर गाउँपालिकास्थित पाण्डेपुरबाट भारततर्फ डिजेल तस्करी भइरहेको भन्ने सूचनाका आधारमा तस्करहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि उल्टै आक्रामण भएको हाे । तस्करहरुलाई गाउँले समेतले साथ दिई प्रहरीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय पर्साकाले जनाएकाे छ ।
घाइते प्रहरी मध्य टाउकोमा गम्भिर चोट लागेका प्रहरी जवान चौधरीको अवस्था चिन्ताजनक छ । उनको वीरगन्जको एसएल न्यूरो एण्ड जनरल अस्पतालको सघनकक्षमा उपचार भइरहेको छ । अन्य तीन जना घाइतेहरुको भने वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अहिलेसम्म कसैलाई पनि नियन्त्रण नगरिएको भन्दै घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति : 11:49









