निजी क्षेत्रले गुनासो गर्न छाडेर सरकारको यात्रामा सघाउनुपर्छः अर्थमन्त्री पौडेल
१६ भदौ, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताउनुभएको छ । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिक साधारणसभामा अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको बताउनुभएको हो ।
“आर्थिक र वित्तीय सूचकहरु सकारात्मक बन्दै गएपनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन । बजारमा माग बढ्न नसकेको गुनासो छ । अर्थतन्त्र दबाबमै छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “केही समय अघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको हो ।” उहाँले आफूहरुले चाहेजसरी अर्थतन्त्रको शिथिलता कम नभएको उल्लेख गर्दै सरकारको हस्तक्षेप पर्याप्त नभएको हो कि भन्ने लागेको बताउनुभयो । अब भने सरकार सशक्त हस्तक्षेपका लागि तयार भएको उहाँको भनाइ थियो ।
मुलुकको अर्थतन्त्र बिग्रनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले अहिले स्थिर सरकार बनेको र नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जाने बताउनुभयो । निजी क्षेत्रले गुनासो गर्न छाडेर विकास र समृद्धिको सरकारको यात्रामा सघाउनुपर्ने धारणा पनि अर्थमन्त्री पौडेलले राख्नुभयो ।
“अब निजी क्षेत्र गुनासोबाट बाहिर आउनुपर्छ । सरकार तपाईंहरुका सबै गुनासो सुन्न र समाधान गर्न तयार छ”, उहाँले भन्नुभयो, “निजी क्षेत्र लगानी बढाएर उत्पादन तथा रोजगारीका क्षेत्रमा केन्द्रित हुनुपर्छ ।” चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति तुलनात्मक रुपमा लचिलो रहेको र अर्थतन्त्रका समस्या समाधान गर्न केन्द्रित रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।
प्रकाशित मिति : १६ भाद्र २०८१, आईतवार १२:१२