सरकारलाई काम गर्न दिनुपर्छ, निराशा हटाउँदै आशा जगाउने काम हुँदैछ: सांसद दाहाल
१३ भदौ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले राष्ट्रिय सहमतिमा बनेको वर्तमान सरकारलाई काम गर्न दिनुपर्ने बताउनुभएको छ ।
“सरकारलाई काम गर्न दिनुपर्छ । सरकार गठन भएको धेरै भएको छैन, निराशा हटाउँदै आशा जगाउने काम हुँदै गएको छ । कहीँ कतै काम बिगारे खबरदारी गर्नुपर्छ”, उहाँले भन्नुभयो । सांसद दाहालले वर्तमान सरकारले तत्कालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।
सांसद जगप्रसाद शर्माले छुवाछूतको अन्त्य अझै पनि हुन नसकेकामा चिन्ता प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “केही उपलब्धि भएका छन् । समाजवादी धाराबाट दलित मुक्ति आन्दोलनलाई नयाँ ठाउँमा पुर्याउन सकिन्छ । संविधानमा भएको व्यवस्था कार्यन्वायन हुन सकेको छैन । समावेशिता कायम गर्ने काममा पनि आत्मसात् गरेको देखिँदैन । अहिलेको मन्त्रिमण्डल होस् वा राजदूत सिफारिस संविधान अनुकूल हुन सकेको छैन ।”
सांसद कमला पन्तले युवा खुसीका साथ नेपालमा बसेर कामकाज गर्न सक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । युवा जनशक्तिलाई राम्रो योजना बनाएर काममा लगायौँ भने मुलुकको समृद्धि सम्भव हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीले आशा पनि जगाउन सकेनौँ, भरोसा पनि दिन सकेनौँ ।” सांसद पन्तले यस विषयमा सरकारले संवेदनशील भएर सोचेको छ रु भन्ने प्रश्न गर्दै युवाको जोस र जाँगर मुलुकको समृद्धिका लागि प्रयोग गर्नुपर्ने बताउनुभयो ।
सांसद गोमादेवी तिमिल्सिनाले कुन ठाउँ बसोबासका लागि उपयुक्त छ भनेर परीक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले सुरक्षित बस्ती निर्माणका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो । सांसद तिमिल्सिनाले दैनिकजसो सवारीसाधन दुर्घटनामा वृद्धि भएको तथ्याङ्क पेस गर्दै लामा दूरीका सवारी साधनमा दुई चालक राख्नैपर्ने बताउनुभयो । विशेष समयममा सांसदहरु पूजा चौधरी, डा अन्जान शाक्य, गङ्गाकुमारी बेलवासे र पदमबहादुर परियारले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
प्रकाशित मिति : 17:22









