नुवाकोटका चार पत्रकार विभिन्न पुरस्कारबाट पुरस्कृत
२८ मंसिर, नुवाकोट । नेपाल पत्रकार महासङ्घ नुवाकोट शाखाले आज चार पत्रकारलाई पुरस्कृत गरेको छ । विदुरमा आयोजित शाखाको नवाैँ साधारणसभाको अवसरमा पत्रकार देवचन्द्र भट्टलाई पत्रकार मोहन विक्रमध्वज जोशी स्मृति पुरस्कार, भोलाराज पौडेललाई स्व पत्रकार रामकृष्ण प्रधान स्मृति पुरस्कार, शिव देवकोटालाई दीर्घसेवा पुरस्कार र भगवती लामालाई क्रियाशील महिला पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । सबै पुरस्कारको राशी जनही रु ११ हजार १११ रहेको छ ।

मोहनविक्रमध्वज जोशी पत्रकारिता पुरस्कारको राशी नुवाकोटबाट सञ्चालित डबली खबर डटकमले, रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारको राशी नुवाकोट जेसिसले तथा क्रियाशील महिला पत्रकारिता पुरस्कारको रकम त्रिशूली प्रवाह साप्ताहिकले सहयोग गरेको शाखाका अध्यक्ष कपिलदेव खनालले जानकारी दिनुभयो । उहाँहरुलाई सांसद तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नं ३ का सहइञ्चार्ज हितबहादुर तामाङ, सांसद नारायणप्रसाद खतिवडा, जिल्ला समन्वय समितिका संयोजक सन्तमान तामाङ र नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टले दोसल्ला ओडाएर सम्मानपत्रसहित पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा सांसद तामाङले पत्रकार महासङ्घले थालनी गरेको पुरस्कार प्रदान गर्ने कार्यलाई निरन्तरता दिए जिल्लामा क्षमतावान पत्रकारको सम्मान हुने बताउनुभयो । पत्रकारले राज्यको नीति र सीमाभित्र रहेर पत्रकारिता गरेर समाजलाई गतिशिल र पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद खतिवडाले पत्रकारिता जगतलाई विश्वसनीय बनाउन पत्रकारको काममा निर्भर हुने भएकाले संवेदनशील पेशामा संवेदनशील र सजग भएर काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव विष्टले सबै सरकारले बनाउने नीतिमा एकरुपता हुनु पर्ने बताउनुभयो । उहाँले सञ्चारमाध्यमको दर्ता खारेजीको नीति कतै पनि बनाउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासङ्घले सदस्यता शुद्धीकरणका लागि प्रत्यक्ष निर्वाचनको नीति विधान संशोधन गरेर ल्याउने तयारी गरिरहेको महासचिव विष्टले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य बद्री मैनालीले एक महिलाको तलब पत्रकार महासङ्घ जिल्ला शाखालाई सहयोग गर्ने घोषणा गर्नुभयो । रासस

प्रकाशित मिति : December 15, 2018 at 12:02 am









