जसले छोरो मारे उसैलाई दही…
-देवशंकर पाैडेल
लिखुखोला उपत्यकामा माओवादी खोज्दै सरकारी फौज गस्ति गर्दै थियो । वि.सं. २०५९ असौज २४ गते पोकुमा पुगेर अमलबोटे निवासी मनबहादुर मगरलाई कव्जामा लियो । त्यसै गाउँका दुर्गाबहादुर राउतलाई पनि कव्जामा लिएर अनेक सोधखोज गर्यो । उनलाई पनि खानीटारको बाटो भएर लिएर हिँड्यो । केही पर छाँगोडाँडो भन्ने निर्जन पाखामा पुर्याएर दुबै जनालाई गोली हानेर हत्या गर्यो । लास त्यतै पाखामा छाडेर नेपाली सेना आइतवारे खोल्सातिर गयो ।
तेर्सो बाटो हिँडिसकेर सेना खाल्टे खोलो तर्यो । सिमलबोटेको सानो उकालो चढेर बद्री महतको धनसारमा टुप्लुक्क पुग्यो । धनसारको कुलेसामा एकजना केटो घाँस काट्न भनेर ठूलो डोको र खुर्पा बोकेर उभिइरहेको थियो । सेना देखेर तर्सियो । सेनाले उसलाई जिस्क्याए । उसले बुझेन किनकी ऊ लठेब्रो स्वभावको थियो । सेनाले बद्रीका घुर्यानमा काँक्रा फलेका देखे ।
काँक्रा चिरेर खान भनेर एकजना सिपाहीले उक्त ठिटो अर्जुन महतसँग भएको खुर्पा माग्न हात पसार्यो । हँसिया लुट्न खोजेको ठानेर उसले सेनालाई हँसिया उज्यायो । भर्खरै दुईजनाको रगतसँग खेलेर आएको सेनाले मान्छे मार्नु सामान्य ठान्यो । त्यति नै बेला अर्को सेनाले अर्जुन महत-२५ लाई गोली हानिदियो ।
अर्जुनका पेटमा गोली लाग्यो । अर्जुन ठहरै भए । उनले खाएको खाना बद्रीजीका घरको भित्ता र कुलेसामा छरपस्ट भयो । कुलेसामा मान्छे मारिराखेर सेना बाटो लाग्यो । सिम्लेखोलो तरेर केही माथीसम्म उकालो चढ्यो । उकालाे विजुलीकाेटकाे थियाे । दाहिनेतिर एउटा घर देख्यो । केहि खान पाइन्छकी भनेर उक्त घरतिर तेर्सियो ।
घरमा अर्जुनकी आमा पद्मकुमारी महत हुनुहुन्थ्यो । उहाँले दही झिकेर दिनु भयो । खाउन्जेल घरमा कोको हुनुहुन्छ आमा भनेर सोधे । आमाले वताउँदै गर्दा एउटा छोरा डोको बोकेर घाँस काट्न गएको छ । त्यतै भेट्नु भयो होला, भन्नु भएछ ।
अब सेनालाई यही आमाको छोरा मारिएछ भन्ने महसुस भएर मुखामुख गरेछन् । दही खाइसकेर हतारहतार पैसा थमाएर बाटोलागे । उनिहरू दएलीडाँडा कट्न नपाउँदै छोरो मारिएको खवर आयो । पद्मकुमारी दिदीको जहाज डुब्यो । एकै छिनमा पुत्र शोकले विह्वल भइन् । परोपकारी आमाले “जसले छोरो मारे उनै सेनालाई दही खुवाउनु भएछ ।”
उता मानसिक समस्या भएकी बद्रीजीकी श्रीमती थप विरामी भइन् । एकान्त धनसारको कुलेसामा मान्छे मारेको विभत्स दृश्य आँखामा झल्झली आएर झन् विरामी परिन् । नानीहरू तर्सिएर उक्त घरमा बस्न सकेनन् । बद्री महतको परिवार पनि त्यस घरमा बस्न नसकेर विस्थापित भए । बेलुका सरकारी सञ्चार माध्यमले आतङ्ककारी मारिएको भनेर विज्ञप्ति जारी गर्यो । विज्ञप्तिले अर्जुन महत भन्न नजानेर “अर्जुन मगर” भनेको थियो । अर्जुन अविवाहित थिए ।
मन्ट्रियल, क्यानाडा (२०८१ साउन १४)
(हाल क्यानडामा रहेका नेकपा एमालेका नेता देवशंकर पाैडलले द्धन्द्धकाल सम्झदै लेखेको अनुभुति उहाँको फेसकुबाट साभार गरिएको हो । सम्पादक)
प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार १०:५७