अदालतमा भ्रष्टाचार भयो भने न्यायालय कमजोर हुन्छः प्रधानन्यायाधीश मिश्र
२४ मंसिर, झापा । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अनावश्यक रुपमा गरिने टिप्पणीले न्यायालय कमजोर हुने बताउनुभएको छ । नेपाल बार एशोसिएशनले आज यहाँ आयोजना गरेको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधान न्यायाधीश मिश्रले भन्नुभयो, “अदालतमा विकृति मौलायो, भ्रष्टाचार भयो भनेर मात्रै हुँदैन, कसले कहाँ कति लियो, त्यो पनि उजुरी गर्नुपर्छ ।” न्यायालयलाई विकृतिमुक्त बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

न्यायपालिकाको स्वतन्त्रता र निर्भिकताका लागि नेपाल बार एशोसिएशनको भूमिका प्रभावकारी हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो । प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले न्यायालयलाई अझै जिम्मेवार र जवाफदेही बनाउन सकिए मात्रै जनताले न्यायको अनुभूति गर्न सक्ने बताउनुभयो ।
बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले न्यायाधीश र कानून व्यवसायी सच्चिने भए ७५ प्रतिशत भ्रष्टाचार कम हुने दाबी गर्नुभयो । एशोसिएशन झापाको संयोजनमा भएको सम्मेलनमा देशभरका एक हजार कानून व्यवसायीको सहभागिता रहेको थियो । सम्मेलन सातबुँदे झापा घोषणापत्र जारी गरेको एशोसिएशन झापाका अध्यक्ष सुरज खत्रीले बताउनुभयो । रासस
प्रकाशित मिति : December 10, 2018 at 11:58 pm







