१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको मूल्याङ्कन हुन्छः मुख्यमन्त्री राई

२४ मंसिर, काठमाडाैं ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले निरङ्कुश व्यवस्थाविरुद्ध सङ्घर्ष गरी जीवन उत्सर्ग गरेका रामप्रसाद राईको योगदानको उचित मूल्याङ्कन गरिने बताउनुभएको छ ।

रामप्रसाद राई स्मृति प्रतिष्ठान र नेपाल डोरीतान सङ्घले संयुक्तरुपमा आज आयोजना गरेको काठमाडौँ उपत्यका विद्यालयस्तरीय डोरीतान प्रतियोगिताको शुभारम्भ गर्दै उहाँले विसं २००७ सालको प्रजातान्त्रिक आन्दोलनको सन्दर्भमा पूर्वी भेगको नेतृत्व सम्हाल्नुभएका राईको भूमिकालाई स्मरण गरेर प्रदेश सरकारले छिट्टै सम्मान गर्ने बताउनुभयो । राईको आदर्श र निष्ठा नयाँ पुस्ताले अवलम्बन गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल डोरीतान सङ्घका अध्यक्ष भवानीप्रसाद पौडेलले यस क्षेत्रमा विद्यालयस्तरदेखि नै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त प्रतिष्ठानसँग सहकार्य गरी प्रतियोगित गरिएको जानकारी दिनुभयो । काठमाडौँ उपत्यका विद्यालयस्तरीय डोरीतान प्रतियोगितामा पुरुषतर्फ बानेश्वरस्थित नोवल एकेडेमी, भक्तपुरस्थित चाणक्य एकेडेमी र कोटेश्वरस्थित हिमालयन कलेज क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । महिलातर्फ भक्तपुरस्थित जनप्रेमी हाई स्कूल, ललितपुरस्थित निर्मल स्कूल र पेप्सीकोलास्थित नेक्सस स्कूल क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए ।

दुवै समूहलाई क्रमशः सात हजार, पाँच हजार र तीन हजार नगदसहित सिल्ड तथा पदक वितरण गरिएको थियो । काठमाडौँ उपत्यकाका निजी तथा सामुदायिक विद्यालय गरी २६ समूहले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : 18:26