नुवाकोटका अर्जुन परियारसहित उत्कृष्ट आठ उद्यमी पुरस्कृत
१६ असार, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर मुलुकमा नै उद्यम गरी रहेका आठ उत्कृष्ट उद्यमीलाई पुरुस्कृत गरेको छ । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रम बीच उत्कृष्ट उद्यमीलाई मन्त्रालय नगद सहित सम्मान गरेको हो ।
विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिमको पुरस्कार सिफारिश समितिले उद्यमीको स्थलगत निरिक्षण गरेको थियो । निरिक्षणबाट प्राप्त प्रतिवेदनहरुको आधारमा सम्भव भएसम्मका सातवटै प्रदेशको प्रतिनिधित्व कायम गर्ने गरी ८ जना उद्यमी राष्ट्रिय पुरस्कार विरतण गरिएको हो ।
झापाका चन्द्रप्रसाद बस्नेतले उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ । पुरस्कार वापत एक लाख ५० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । गुल्मीका रविलाल पन्थ, झापाका मोहन प्रसाद संग्रौला, जुम्लाका टक्क बहादुर नेपाली, कन्चनपुरका चन्द्र सिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भुपेन्द्र शर्मा र बाराका हिराबहादुर थापाले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ। पुरस्कार वापत ७५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ । उद्यमीलाई सम्मान गर्दै श्रममन्त्री डिपी अर्यालले एक पटक वैदेशिक रोजगारीमा गएर फर्केका युवालाई मुलुक भित्रै रहने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
वैदेशिक रोजगारीबाट फर्केका युुवालाई मुलुकमा नै रोजगारीका अवसरहरु सृजना गर्न प्रेरित गर्नका लागि मन्त्रालयले प्रत्येक बर्ष वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरुलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ ।राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि उद्यमीलाई सार्वजनिक रुपमा नै आवेदनको माग गरिएको थियो । इमेल मार्फत ८९ जना उद्यमीले पुरस्कारको लागि आवेदन दिएका थिए ।
प्रकाशित मिति : १६ असार २०८१, आईतवार १७:३१