२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

लगानी सम्बन्धी अध्यादेश संसद्मा पेश

८ जेठ, काठमाडौँ । गत बैशाख १६ र १७ मा सम्पन्न लगानी सम्मेलनका अवसरमा जारी गरिएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश, २०८१ संघीय संसद्मा प्रस्तुत भएको छ । मंगलबारको संघीय संसद्मा उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेश गरेका हुन् ।

प्रमुख विपक्ष दलको संसद् अवरोधकाबीच मन्त्री भण्डारीले अध्यादेश पेश गरेका हुन् । सरकारले बैशाख १६ गते उक्त अध्यादेश जारी गरेको थियो । त्यसबेला संघीय संसद्को अधिवेशन नभएपछि सरकारले अध्यादेशबाट कानुन संसोधन गरेको थियो । अहिले त्यसलाई सविधानअनुसार संसद्मा पेश गरिएको हो ।

लगानीलाई प्रोत्साहन गर्न सरकारले अध्यादेश मार्फत औद्योगिक व्यवसायीक ऐन, २०७६, भुमि सम्बन्धी ऐन, २०२१, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९, जग्गा प्राप्ती ऐन, २०३४, बिशेष आर्थिक क्षेत्र ऐन २०७३, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ र बन ऐन २०७६ अध्यादेश मार्फत संसोधन गरेको थियो ।

उक्त संसोधनले नेपालमा लगानी प्रोत्साहन हुने मन्त्री भण्डारीले बताए । यी संसोधनहरुले नेपालमा स्टार्टअप उद्योग दर्ता गर्न सहजता प्रदान गर्ने उनको भनाइ छ । जग्गा प्राप्ती, बिशेष आर्थिक क्षेत्र सम्बन्धी नीतिलाई लगानीमैत्री बनाएको उनले बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार १४:३६