१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

कीर्तिनिधि विष्ट र मेरो बाटो फरक भए पनि देशभक्तिको भावना एउटै थियोः अोली

१४ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री स्व. कीर्तिनिधि विष्ट राष्ट्रवादी नेता भएको बताउनुभएको छ ।काठमाडौँमा आज ‘कीर्तिनिधि विष्ट प्रखर राष्ट्रवादी नेता’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले विष्टले आफ्नो कार्यकालमा राष्ट्रवादी चरित्र प्रस्तुत गर्नुभएको टिप्पणी गर्नुभयो । “तत्कालिन समयमा नेपालको उत्तर सीमामा रहेका भारतीय चेकपोस्ट हटाउने निर्णय गरेर विष्टले देशभक्तिको सन्देश दिनुभएको थियो,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “चेकपोस्ट हटाएपछि मलाई लाग्यो प्रधानमन्त्रीले चाह्यो भने देशका लागि उभिन सक्दो रहेछ, मुख्य पक्ष देश बनाउने सोचको आवश्यकता रहेछ ।”

प्रधानमन्त्री ओलीले विष्टले नैतिकताको राजनीति गरेकोसमेत उल्लेख गर्नुभयो । “पदका लागि जे पनि गर्न तयार होइन, उहाँ देशका लागि पद छाड्न तयार हुनुहुन्थ्यो,” प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो, “उहाँ र मेरो बाटो फरक भए पनि देशभक्तिको भावना एउटै थियो, त्यस्तो देशभक्तिको भावना पञ्चायत कालमा कीर्तिनिधि विष्टले देखाउनुभएको छ ।”

पुत्र विनोद विष्टद्वारा लिखित पुस्तक विमोचन समारोहमा प्रधानमन्त्री ओलीले विष्टलाई २०२६ सालतिर झापाको घैलाडुब्बा स्कुलमा भेटेकोसमेत स्मरण गर्नुभयो । “त्यस कार्यक्रममा मैले स्वागत भाषण गरेको थिएँ,” प्रधानमन्त्रीले सम्झनुभयो, “उहाँको विद्वता, अभिव्यक्ति, जिउडाल, उचाई, भावना र दृढता प्रधानमन्त्रीकोजस्तै थियो ।’ आफूले भेटेको पहिलो प्रधानमन्त्री कीर्तिनिधि विष्ट भएकोसमेत प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : November 30, 2018 at 7:03 pm