पूँजीगत खर्चमा सुधार गराैँः पूर्व अर्थमन्त्री पाण्डे
२९ वैशाख, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको पूँजीगत खर्चलाई सुधार गर्नुपर्ने बताउनुहुँदै पूँजीगत खर्चको प्रभावकारीता ल्याउन चुनौती रहेको बताउनुभयो । उहाँले राष्ट्रिय योजना आयोगले लगेको कुरालाई संसद्ले पारित गरेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले विकासको सवालमा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले शनिबार ललितपुरको होटल हिमालयमा आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी राष्ट्रिय गोष्ठीमा उहाँले पूँजीगत खर्चमा सुधार ल्याउनका लागि विशेष रूपमा सोच्नुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पार्टीका नेताले पार्टीको कुरा मात्र नभई पार्टीको स्वार्थभन्दा माथि उठेर काम गर्न सके मुलुकको विकास हुने बताउनुभयो । उहाँले आफू भर्खरै मन्त्री भएकाले अब कामको गतिलाई अघि बढाउने र भौतिक क्षेत्रमा राम्रो प्रगति गर्ने बताउनुभयो । एमालेका केन्द्रीय सदस्य विभागका प्रमुख कृष्णवहादुर केसीले सडक, यातायातका क्षेत्रमा विज्ञसँगको छलफलबाट आएका सुझाव पार्टीलाई बुझाउने बताउनुभयो ।
विभागका सचिव सुशील ज्ञवालीले राजनीतिक दृष्टिकोण स्पष्ट भएमात्र विकास हुने धारणा राख्नुभयो । राजनीतिक रुपमा अस्थिरता आए पनि दृष्टिकोणमा परिवर्तन नभएपछि मुलुकको विकास हुने उहाँको भनाइ छ । कार्यक्रममा सडक, रेल तथा जल यातायातका क्षेत्रमा डा चन्द्रवहादुर श्रेष्ठ र गुरु भट्टराई, निर्माण व्यवसाय तथा इन्जिनियरिङमा सुशील ज्ञवाली र ओम शर्मा तथा यातायात क्षेत्रमा दधि खरेल र श्रीराम ढकालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार १६:०४