कृषिमा आधारित साना मझौला उद्योग स्थापनामा जोड दिउँः अध्यक्ष ओली
२९ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताउनु भएको छ । एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले शनिबार ललितपुरको होटल हिमालयमा आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी राष्ट्रिय गोष्ठीमा उहाँले राजनीतिक अस्थिरताले विकासका काम अगाडि बढ्न नसकेको बताउनुभएको हो ।
“विकासका कुरा कतिले बुझ्दैनन् । कतिले रोकिदिन्छन् त कतिले भत्काइदिन्छन् । यो जरुरी छैन भन्ठान्छन् । यस्ता कुराले विकास निर्माणमा व्यवधान खडा गरेको छ,” उहाँले भन्नुभयो, “तर पनि हामीले काम गरिरहेका छौँ । अहिले नयाँ नयाँ खालका अभ्यास भइरहेको छ ।” उहाँले पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोगजारीका अवसर सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष ओलीले कृषिमा आधारित साना मझौला उद्योग स्थापना गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारका लागि आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गरिने जानकारी पनि दिनुभयो । “पूर्वाधार विकास होइन । विकासको आधार पूर्वाधार हो । विकास गर्न पूर्वाधारको विकास चाहिन्छ, पूर्वाधारको विकासमा ठूलो सफलता प्राप्त गरिसकेका छौँ,” उहाँले भन्नुभयो ।
उहाँले पूर्वाधारको विकास हुँदा कनेक्टिभिटीका क्षेत्रमा रेलवे, हवाईजहाज, विद्युत् विस्तार, संचारको विस्तारमा ठूलो प्रगति गरेको बताउनुभयो । नेपालजस्तो दुर्गम देशमा उत्पादनले बजार पाउँदैनन् भन्ने ठूलो गुनासो रहेकाले उहाँले केही ठाउँबाहेक त्यस्तो गुनासो नभएको स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले हरेक पालिकाका सदरमुकामलाई कालोपत्र बाटोले जोड्न अभियान सञ्चालन गरेको बताउनुभयो ।
प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार १५:३३