६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

४१.५१ प्रतिशतले बढ्यो मिथिला लघुवित्तको नाफा, प्रतिसेयर आम्दानीमा पनि वृद्धि


२४ वैशाख, काठमाडाैं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.५१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो।

अघिल्लो आवको तुलनामा कम्पनीकाे खुद ब्याज आम्दानी पनि ३१.५३ प्रतिशतले बढाएको छ । समीक्षा अवधिसम्म संस्थाले ३ करोड ५३ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४.९४ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.९० प्रतिशतमा सीमित बनेको छ । ९ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ६० लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ३ रुपैयाँ ८३ पैसा बढेर २० रुपैयाँ ४४ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४८.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ४१ पैसा रहेको छ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार ११:२४