७ असार २०८३, आइतबार | Sun Jun 21 2026

हिमालयन लघुवित्तको नाफा १ करोड १३ लाख, प्रतिसेयर आम्दानी पनि बढ्यो

१८ वैशाख, काठमाडौं। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्राे त्रैमाससम्ममा लघुवित्तले १ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.८७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६५ लाख रुपैयाँ नाफा कमाएको थियो।

संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले अघिल्लो आवको तुलनामा खुद ब्याज आम्दानी ४.४६ प्रतिशतले बढाएको छ । संस्थाको खुद ब्याज आम्दानी १५ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाले १ करोड ६२ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । कम्पनीकाे वितरणयोग्य मुनाफा ६२ लाख रुपैयाँ रहेको छ । ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १५ करोड ४ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ४ अर्ब १५ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

संस्थाको खराब कर्जा अनुपातमा केहि कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४.९१ प्रतिशत रहेको खराब बर्जा अनुपात घटेर ४.६१ प्रतिशतमा सीमित बनेको छ ।  समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २ रुपैयाँ २ पैसा बढेर ४ रुपैयाँ ७५, प्रतिसयर नेटवर्थ १२६.४६ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : April 30, 2024 at 11:45 am