१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

पुँजीगत बजेट खर्चमा सुधार गछौँः नवनियुक्त अर्थमन्त्री चुमान

९ वैशाख, कास्की । गण्डकी प्रदेश सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमानले पुँजीगत बजेट खर्चमा सुधार गर्ने बताउका छन् । आज मन्त्रालयमा पदबहाली गर्दै उनले प्रदेश सरकारको पुँजीगत बजेट खर्च बढाउन कर्मचारीलाई निर्देशन दिए ।

उनले भने, “विगतदेखि प्रदेश सरकारले पुँजीगत खर्च वृद्धि गर्ने कुरा गर्दे आएको छ, तर हुनसकेको छैन । यो पटक कार्यान्वयन गर्नेछौँ, बजेट खर्च गर्ने परिपाटी आगामी आर्थिक वर्षमा सुधार गरेर लैजान्छौँ ।”

सरकारले प्रदेशको नीतिगत समस्या समाधान, औद्योगिक पूर्वाधार विकास, राजस्वको दायरा फराकिलो पार्ने लगायतका विषयमा जोड दिएर काम गर्ने स्पष्ट पारे ।

आर्थिक मामिलामन्त्री चुमानले आगामी वर्ष गण्डकीमा लगानी सम्मेलन आयोजना गर्न ‘इन्भेष्ट गण्डकी’ परियोजना सञ्चालनमा ल्याउने पहिलो निर्णय गरेका छन्। सार्वजनिक-निजी-साझेदारी तथा निजी लगानीमा कार्यान्वयन गर्ने आयोजनाको अध्ययन गर्न आगामी वर्ष ‘इन्भेष्ट गण्डकी’ परियोजना सञ्चालन गर्ने निर्णय गरिएको हो ।

आर्थिक मामिला मन्त्रालयका सचिवको नेतृत्वमा रहने ‘इन्भेष्ट गण्डकी’ परियोजना अध्ययन कार्यदलले पर्यटन, कृषि, औद्योगिक पूर्वाधार र जलविद्युत्का क्षेत्रमा लगानी आकर्षण गर्न परियोजनाको अवधारणा तयार पार्नेछ ।

मन्त्री चुमानको पदवहाली कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्रीकान्त शर्मा खतिवडा, सदस्य डा सुवास अधिकारी, आर्थिक मामिला मन्त्रालयका सचिव बलराज रिजाल लगायतको उपस्थिति रहेको थियो ।

गत चैत २५ गते मन्त्री नियुक्त भएका चुमानको मन्त्रालय शनिबार तोकिएको थियो । उनी नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा सदस्य छन् ।

प्रकाशित मिति : April 21, 2024 at 6:07 pm