सरकारले गरेका राम्राे कामको प्रशंसा गर्न पनि सक्नुपर्छ :मन्त्री ज्ञवाली
१२ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको जानकारी दिनुभएको छ । अहिले २५ जिल्लामा मात्रै यो कार्यक्रम लागू भएकाले चाँडैनै देशभरका सबै जिल्लामा यो कार्यक्रम लागू हुने जानकारी मन्त्री ज्ञवालीले दिनुभयो ।
गुल्मीको हुँगाकी मृगौला पीडित १३ वर्षिया वालिका बन्दना भण्डारीलाई उपचारकालागि उठाइएको सहयोग रकम हस्तान्तरण गर्न प्रदेश पाँच पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले हालै सरकारले ३५ लाख श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सार्वजनिक गरेको प्रष्ट पार्नुभयो ।

स्वास्थ्य बीमा कार्यक्रम लागूभए पछि यसले मृत्युलाई जित्न नसकिए पनि अकालमा पैसा अभावले ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्न सहयोग हुने उहाँको भनाई थियो । ‘यस्ता कार्यले आम मानिसको जीवनस्तर माथि उठाउन र सरकारले परिकल्पना गरेको समृद्ध नेपाल बनाउन थप सहयोग पुग्ने छ,’ मन्त्री ज्ञवालीले भन्नुभयो ।
सरकारले अहिले काम गरिरहेको बताउँदै नकारात्मक टिका टिप्पणीहरु मात्रै बढी भएको बताउनु भयो । ‘सरकारले कामै गरेन भनेर टिप्पणी गर्नु स्वागत योग्य कुरा भए पनि सकारात्मक कामको पनि मुल्यांकन गर्नुपर्छ, निराशाको खेती गरेर कसैलाई फाइदा पुग्दैन,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, ‘सरकारले जनताको जीवनस्तर उकास्न र समृद्धितर्फ अघि बढाउने काम गरिरहेको छ, सकारात्मक कामको चर्चा नै गर्न नचाहने र निराशाको खेती मात्रै गर्नेहरु आफै चुप लाग्छन ।’

कार्यक्रममा मन्त्री ज्ञवालीले हुँगाकी १३ वर्षिया वालिका बन्दा भण्डारीलाई उपचारका लागि दुबईमा संकलन गरिएको २ लाख ८ हजार ५ सय रुपैयाँ उपचारका लागि सहयोग हस्तान्तरण गर्नुभएको थियो । दुबईमा बैदेशिक रोजगारीका क्रममा रहेका कुवेर लुईटेल र खिम केसीले संयोजन गरेर नेपालमा कलाकार बैकुण्ठ महतमार्फत रकम उपलव्ध गराइएको हो।
प्रकाशित मिति : 13:53









