१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

निक्षेप संकलनमार्फत बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

९ चैत, काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिन थालेपनि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत बजारबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ ।  राष्ट्र बैंकले आज उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने जनाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी चैत ३० गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।  बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार ११:३२