१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिने, उर्मिलाकै सम्भावना


१६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको स्थायी समिति बैठकले राष्ट्रियसभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो । राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्ण सिटौला वा  आनन्द ढुंगानालाई अघि सार्ने चर्चाबीच माओ‌वादीको स्थायी कमिटी बैठकले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको हो ।

माओवादीबाट उम्मेदवार हुँदा निर्विकल्प वर्तमान उपाध्यक्ष उर्मिला अर्याल नै उम्मेदवार हुने माओवादीका एक स्थायी कमिटी सदस्यले दैनिकीसँग जानकारी दिए । उनले भने, माओवादीले पाउने जम्मा एक सिट हो त्यसमा अहिले उपाध्यक्ष रहनुभएको उर्मिलाजी नै अध्यक्षको उम्मेदवार हुनुहुन्छ । यद्यपी अहिले नै उम्मेदवारका बारेमा औपचारिक निर्णय भएको छैन ।’

उर्मिला अर्याल २०३७ सालको जनमतसंग्रहका बेलादेखि विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोलनमा लागेकी पात्र हुन । २०३८ सालमा सम्पन्न महिला संघको राष्ट्रिय सम्मेलनले अर्याललाई केन्द्रीय अध्यक्ष बनााएको थियो । उक्त कमिटीको महासचिव माओवादी उपाध्यक्ष पम्फा भुसाल  थिइन । अर्याल भन्दा अघि साहित्यकार पारिजात अध्यक्ष संघको अध्यक्ष थिइन । अर्याल अध्यक्ष रहेको महिला संघ अहिलेको नेकपा माओवादी केन्द्रको भातृ संगठन रहेको बताइन्छ ।

अर्याल पछि एमालेमा सक्रिय भएकी थिइन । यद्यपी पछिल्लो समय नेकपा एमाले निकटको अखिल नेपाल महिला संघको अध्यक्षमा विद्या भण्डारी लगायतले उम्मेदवार नै हुन नदिएपछि उनी फेरि माओवादीमा प्रवेश गरेकी थिइन ।

गठबन्धन ब्रेक हुने संकेन

नेपाली कांग्रेसले महासमिति बैठकबाट आगामी चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको एक साता नबित्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पनि आगमी चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । यद्यपी विगतमा गठबन्धन बनाइदिन विदेशीको सहायतामा काम गरेका केही नेताले पार्टीको यस्तो निर्णयमा असहमति जनाएको बुझिएको छ ।

प्रमुख सत्तारूढ दल माओवादी र कांग्रेसले निर्णय गरे अनुसारकै बाटो हिँडे भने वर्तमान गठबन्धन पुनः दुर्घटनामा पर्ने निश्चित देखिन्छ । त्यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा अध्यक्ष र प्रधानमन्त्रीमा फेरि माओवादी केन्द्रको उम्मेदवारलाई पुनः एक पटक मत दिने अवसर पाउनेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १२:०६