१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सामान्य बैंकिङ अभ्याससम्म नबुझि कुनै पेशाकर्मीलाई दुःख दिनु गलत होः ज्ञवाली


१६ फागुन, काठमाडौँ । नबिल बैंकका नायव महाप्रवन्धक (डीजीएम) मनोज ज्ञवालीले सामान्य बैंकिङ अभ्याससम्म नबुझि कुनै पेशाकर्मीलाई दुःख दीनु गलत भएको बताएका छन् । ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

ऋण प्रवाहमा चरम अनियमितता गरेको अभियोगमा मंगलबार प्रभु बैंक लिमिटेडका डेपुटी सीईओ मनोज न्यौपाने, सीईओ तुलसीराम गौतमसहित केही पक्राउ परेका थिए । सोही प्रसंगलाई लिएर ज्ञवालीले धितोले खामेन भनेर बैंकिङ कसुर लगाउँदै पक्राउ गर्दै जाने हो भने बैंकको कर्जा प्रवाहमा काम गर्ने कुनै पनि बैंकर बाँकी नरहने, सबै जेल जानुपर्ने अवस्था आउने बताएका छन् ।

उनले कर्जा प्रवाह गर्दा व्याक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बेईमानी गर्ने बैंकरलाई नागरिकको पैसामा बदमासी गरेको अपराध मा हदैसम्मको कारबाही गरे हुने बताए ।

उनले लेखेका छन्, ‘ समाचारहरुमा देखे पढे अनुसार असुल्नुपर्ने ऋण भन्दा धितो कम भएकाले कर्जा दुरुपयोग अभियोगमा १२ जना बैंकरलाई सीआईबीले समात्यो रे!!

कुनै बैंकले प्रवाह गरेको कर्जा ख़राब कर्जामा परिणत भयो र ऋण असुलीको क्रममा धितोले खामेन भने बैंकिंग कसुर लगाउने अनि RM देखि सीईओ/बोर्ड सम्मलाई हथकड़ी लगाउने हो भने छ महिना मात्र कर्पोरेट/इन्फ्रा मा कर्जा दिन बसेका कुनै बैंकर जेल बाहिर हुदैनन । जसलाई मन लाग्छ, एक हप्ता फाईल खोजेर टप्प टिपेर जेल हाले हुन्छ। कर्जा प्रवाह गर्दा व्याक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बेईमानी गर्ने बैंकरलाई नागरिकको पैसामा बदमासी गरेको अपराध मा हदैसम्मको कारबाही हुनुपर्दछ तर सामान्य बैकिंग अभ्यास सम्म नबुझि कुनै पेशाकर्मीलाई दुःख दीनु ग़लत हो। रिसिवी साध्न, दुःख दिने नियतले गरिएको कर्म हो वा बैकिंग नबुझि गरेको काम हो भने म खेद प्रकट गर्छु । जहांसम्म तुलसीराम गौतम जस्ता बैंकरले बदमासी गरेको चार्ज बैकिंग सेक्टरलाई पत्याउन मुस्किल छ। अरु बैकरहरु को बारेमा म जानकार हुन सकिन तर मनोज, दिपेश र राजेश ले घुस खाए, बेईमानी गरे भनेर पत्याउन म सक्दिन । यस पुर्व BOK का सीईओ लाई यसै दुःख दिईयो । बदमासी छैन भने साथीहरुले उन्मुक्ति पाउछन नै तर यसका लागी पनि सेटिंग कति मिलाउनु पर्ने हो? उनीहरुले भोगेको मानसिक तनाव को क्षतिपूर्ति कसरी हुन्छ? के बैकहरुले अब रियलेस्टेट र घर कर्जा वा मार्जिन लैण्डिंग मात्र गर्ने हो? धेरै प्रश्न आईरहे ।’

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १०:३३