आगामी वर्ष १ खर्बभन्दा बढी रकम सार्वजनिक ऋणको भुक्तानीमा बिनियोजन गर्नुपर्छः अर्थमन्त्री
१४ फागुन, काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष थप एक खर्ब रुपैयाँभन्दा बढी रकम सार्वजनिक ऋणको भुक्तानीमा बिनियोजन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१/०८२ का लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री महतले सार्वजनिक खर्चलाई विवेकशील र मितव्ययी ढंगले राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्न थप सुधारको आवश्यकता रहेको बताए ।
विगतमा लिइएको सार्वजनिक ऋणको दायित्व भुक्तानी गर्न वर्षेनी ठूलो रकम छुट्याउनु परेको अर्थमन्त्री डा.महतले बताएका छन् । तसर्थ, आगामी आर्थिक वर्षमा थप १ खर्ब रुपैयाँ बढी रकम ऋण तिर्नका लागि छुट्याउनुपर्ने आवश्यकता रहेको उनले बताएका छन् ।
प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १४:५४