१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

मिडिया चिप्लिए कि मन्त्री ? अर्थ मन्त्रालयमा १० बजे पत्रकार सम्मेलन

४ फागुन, काठमाडौँ । बजेटको अर्धवार्षिक समिक्षाको समाचार बजेट घटायो सरकारले भन्दै प्रचार भएपछि अर्थमन्त्रलय तनावमा परेको छ । संसदमा पारित गरेको बजेट अर्थमन्त्रीले नै घटाउने वा बढाउने हुन सक्दैन । तर समाचारहरूमा बजेट नै २ खर्ब बढी घट्यो भनेर प्रचार भयो ।

अर्थमन्त्री डा प्रकाशशरण महतले माघ २९ गते अर्धवार्षिक समीक्षा गर्दै सार्वजनिक गरेको तथ्य बजेट नै घटेको भन्दै प्रचार भएपछि त्यसबारे थप प्रष्ट पार्न सञ्चार माध्यमलाई प्रकियाको बारेमा जानकारी दिन अहिले बिहान १० बजे सञ्चार माध्यमलाई अर्थ मन्त्रालयमा निम्तो दिइएको छ । मुलत बजेट पक्रिया र समिक्षा के हो भन्नेबारेमा मन्त्रीले मिडियालाई जानकारी दिने कार्यसूची रहेको मन्त्रालय स्रोतले बताएको छ ।

माघ २९ मा अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री महतले  सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै राजस्व र खर्चको अनुमान पूरा नहुने जनाएको थिए । चालू आर्थिक वर्षका लागि सुरुवाती विनियोजित बजेटको ८७ दशमलव ३८ प्रतिशत अर्थात् रु १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च गर्नेगरी संशोधित अनुमान गरिएको छ ।

सुरुवाती विनियोजनको तुलनामा चालू शीर्षकमा ८८ दशमलव ८४, पुँजीगत शीर्षकमा ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्था शीर्षकमा ८७ दशमलव ३९ प्रतिशत खर्च हुने गरी अनुमान संशोधन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिएका थिए । चालु आर्थिक वर्षमा रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख खर्च हुने अनुमान गरिएकोमा रू १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च हुने संशोधित अनुमान छ ।

चालूतर्फ रू १० खर्ब सात अर्ब ४५ करोड ४६ लाख अर्थात् विनियोजनको ८८ दशमलव २४ प्रतिशत, पूँजीगततर्फ रु दुई खर्ब ५४ अर्ब १३ करोड १९ लाख अर्थात् विनियोजनको ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रू दुई खर्ब ६८ अर्ब ६७ करोड ९७ लाख अर्थात् विनियोजनको ८७ दशमलव ३९ प्रतिशत खर्च हुने अनुमान छ ।

चालु वर्षको अन्त्यसम्ममा सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण रू १३ खर्ब नौ अर्ब ३० करोड ८६ लाख, वैदेशिक अनुदानतर्फ रु ४० अर्ब १२ करोड नौ लाख र वैदेशिक ऋणतर्फ रू एक खर्ब ८० अर्ब ८३ करोड ६७ लाख खर्च हुने संशोधित अनुमान छ ।

चालू आर्थिक वर्षका सरकारले कुल रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । चालूतर्फ रू नौ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख पुँजीगततर्फ रू चार खर्ब ७१ अर्ब छ करोड ५८ लाख र वित्तीय व्यवस्थातर्फ रू तीन खर्ब ३० अर्ब ९१ करोड सात लाख बराबर बजेट छुट्याइएको थियो ।

चालू आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १२ खर्ब ४८ अर्ब ६२ करोड रहने अनुमान गरिएको थियो । त्यस्तै, रु दुई खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋण तथा रु दुई खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने र रु ४९ अर्ब ९४ करोड वैदेशिक अनुदानबाट स्रोत व्यहोर्ने अनुमान गरिएको थियो ।

प्रकाशित मिति : February 16, 2024 at 8:29 am