व्यक्तिगतभन्दा संस्थागत मुद्दति निक्षेपको ब्याज एक प्रतिशतले कम हुनुपर्ने
१ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । केन्द्रीय बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरेको छ । अहिले बैंकहरुले संस्थागत मुद्दती निक्षपको ब्याजदर ब्यक्तिगत मुद्दती निक्षेपको भन्दा २ प्रतिशत कम गर्नुपर्ने व्यवस्था गरेको थियो।
‘ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ’, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भनिएको छ, ‘संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा एक प्रतिशत विन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ ।’
कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था केन्द्रीय बेंकले गरेको छ।
अर्थतन्त्रको आन्तरिक एवं बाह्य स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थालाई दृष्टिगत गरी ब्याजदर करिडोरअन्तर्गतका दरलाई यथावत राखिएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।
प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १०:३५