पप्पु कन्स्ट्रक्सन कालोसूचीमा, सरकारद्वारा सम्पूर्ण टेण्डर प्रक्रियामा रोक
४ मंसिर, काठमाडौँ । सरकारले पप्पु कन्स्ट्रक्सनलाई कालाेसूचिमा राखेकाे छ । ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको हाे । कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिंचाइ आयोजनाले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । सिक्टाको सिफारिस अनुसार कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको हाे ।

कार्यालयले मंगलबार जारी गरेको सूचनामा सिक्टा आयोजनाले गरेको उजुरी अध्ययन गर्दा पप्पु कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी पर्न सक्ने देखिएको उल्लेख छ । कालोसूचीबाट नहटेसम्म पप्पुलाई कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी नगराउन पनि कार्यालयले आग्रह गरेको छ ।
नहर निर्माणको काम समयमै नसकेको भन्दै सिक्टा आयोजनाले २९ कात्तिकमा निर्माण कम्पनी कोस्टाल पप्पु जेभीसँगको ठेक्का सम्झौता तोड्दै कालोसूचीमा राखेको थियो । पप्पुले सन् २०१६ जुन २० मा उक्त आयोजनाको २३ किलोमीटरकाे डुडुवा शाखा नहर निर्माण गर्ने ठेक्का पाएको थियो । तर, पप्पुले ठेक्का सम्झौता अवधि सकिँदा समेत जम्मा ७ प्रतिशत मात्र काम गरेको आयोजनाले भनेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलवार १०:३४












