सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ६२ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी पनि बढ्यो
२२ माघ, काठमाडाैँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २३ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.९३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको नाफा १४ करोड ५२ लाख रुपैयाँ रहेकाे थियाे ।
नाफासँगै इन्स्योरेन्सको बिमाशुल्क संकलन पनि ५९.७३ प्रतिशतले बढेको छ । गत वर्षको पुस मसान्तमा २ अर्ब ६८ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको इन्स्योरेन्सले चालु आवको पुस मसान्तसम्म ४ अर्ब २८ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेको हो । यस्तै कम्पनीले खुद बिमा शुल्क पनि २ अर्ब १४ करोडबाट बढाएर ४ अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ । इन्स्योरेन्स कम्पनीकाे चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४ रुपैयाँ २ पैसा बढेर १० रुपैयाँ ४१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा रहेको छ ।
प्रकाशित मिति : २२ माघ २०८०, सोमबार १३:२६