३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

रास्वपामा गुट बनाउने र नेताको नजिक हुन खोज्नेलाई प्राथमिकता दिँदैनाैँः नेता वाग्ले

२० माघ, दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले अनुशासन र विधिमा टेकेर पार्टीमा नेतृत्व छान्नुपर्ने धारणा राखेका छन् । रास्वपा व्यास नगर समितिको आज दमौलीमा आयोजित भेलालाई सम्बोधन गर्दै डा वाग्लेले पार्टीमा अनुशासन र विधिको शासनलाई कडाइका साथ पालना गर्नुपर्ने उल्लेख गरे ।

पार्टीमा गुट बनाउने, नेताको नजिक हुन खोज्ने प्रवृत्ति भएकाले त्यस्ता प्रवृत्तिलाई रास्वपाले प्राथमिकता नदिने वाग्लेको भनाइ थियो । उनले भने, “राजनीतिक दलभित्र गुटबन्दी, नेताको चाकरी गर्ने प्रवृत्ति हुन्छ, हाम्रोमा पनि त्यस्तो प्रयास हुनसक्छ । त्यसमा हामी सचेत छौँ ।”

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रहनुभएका वाग्लेले भ्रष्टाचार, विकृति र कुशासन भित्र्याउन खोज्ने तत्वविरुद्ध सचेत हुँदै त्यस्ता तत्वलाई हटाउन निर्मम बनिने उल्लेख गरे । पार्टीमा देशैभर सर्वसाधारण जनताको आकर्षण बढेको बताउँदै आगामी चुनावमा रास्वपाको लहर आउने वाग्लेले दाबी गरे ।

उनले भने, “तनहुँ र चितवनको उपनिर्वाचनले पार्टीमा जनलहर आएको प्रमाणित भइसकेको छ । आगामी चुनाव २०८४ मा पार्टी सभापति रवि लामिछानेकै नेतृत्वमा हामी चुनावमा जाने हो ।” डा वाग्लेले पार्टीका १९ जना सांसद ४९ वर्षभन्दा कम उमेर समूहका रहेको बताउँदै अगाडि थपे, “हामीले अझै २० वर्षका लागि नेतृत्व तयार गरिसकेका छौँ । पाका नेताहरूलाई समेत पार्टीमा उचित जिम्मेवारी दिइन्छ ।”

डा वाग्लेले राजनीतिलाई सङ्ल्याउने अभियानलाई अगाडि बढाउँदै सामाजिक न्यायसहितको उद्धार अर्थतन्त्रको नीति लिइएको बताए । कांग्रेसलाई कम्युनिष्ट बन्न गाह्रो र कम्युनिष्टलाई कांग्रेस बन्न गाह्रो हुने भन्दै वाग्लेले रास्वपामा भने सबै अट्ने दाबी गरे । उनले भने, “सबै नेपाली अटाउन सक्ने पार्टी भनेको रास्वपा हो । नेपाली माटो सुहाउँदो पार्टीको छ ।” पार्टीमा नेतृत्व गर्न आउनेलाई केन्द्रबाट हस्तक्षेप नगर्ने भन्दै उनले तल्लो तहबाटै नेतृत्व छनोट गरिने बताए । रास्वपा राजावादी पार्टी नभएको बताउँदै राजा चाहिन्छ भन्नेहरू पार्टीमा रहन नसक्ने वाग्लेको भनाइ थियो ।

सङ्घीयताप्रति पार्टीको स्पष्ट धारणा रहेको बताउँदै नेपाललाई भार पार्ने खालको संरचना आवश्यक नरहेको वाग्लेले बताए । आफूहरू सङ्घीयताको विरोधी नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : February 3, 2024 at 6:51 pm