२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

बैंकहरु पनि मिटरब्याजी भएः अध्यक्ष ओली

१९ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजी भएको आरोप लगाएका छन् । शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्ताे बताएका हुन् ।

अध्यक्ष ओलीले मिटरब्याजीको जस्तो गरी तीन महिनापछि ब्याजलाई पनि सावाँमा गाभ्ने भएकाले बैंकहरु पनि मिटरब्याजी जस्तै भएको बताए । ‘बैंकहरुले नराम्रो नमान्नु होला। बैंकहरु पनि मिटरब्याजी नै छन्। बैंक मिटरब्याजी होइन र तीन महिनाको ब्याजलाई सावाँमा गाभ्नु मिटरब्याजी त्यही हो,’ अध्यक्ष ओलीले भने, ‘बैंकहरू पनि मिटरब्याजी भएका छन्। तीन महिनामा साँवामा गाभ्ने भएन। कर्जा लैजानेले तिर्नु पनि पर्छ होला। कर्जा तिर्नेले प्रतिफल लिएर तिर्ने हो।’

साथै, अध्यक्ष ओलीले बैंकहरुले धितोका कारण आफूले दिएको ऋण सदुपयोग भएको छ कि छैन नहेर्ने गरेको बताए । ‘धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्र बैंकको काम होइन’ उनले भने, ‘बैंकले लगानी गरेपछि अनुगमन पनि गर्नुपर्छ, सदुपयोग भएको छ छैन पनि हेनुपर्छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १५:२३