१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

सुर्खेतमा पेटछाती जोडिएका जुम्ल्याहा बालिका जन्मिए

३ मङ्सिर,सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिनुभएको छ । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिनुभएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिनुभएका डा राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल, शल्यक्रिया कक्षमा रहनुभएकी नर्स विनिता बस्यालसहितको चिकित्सकको संयुक्त प्रयासबाट शल्यक्रिया गरेर जुम्ल्याहा बालिकाको जन्म दिइएको हो । उनीहरुको अवस्था सामान्य रहे पनि खतरामुक्त गर्न एनआइसियुमा राखिएको डा राजीवले जानकारी दिनुभयो ।

उहाँका अनुसार आमाको अवस्था सामान्य छ । जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु पनि जोडिएको हुनसक्ने उहाँले बताउनुभयो । “पेटदेखि छातीसम्मको शरीर जोडिएको शिशु जन्मनु पश्चिम नेपालमा असाधारण र दुर्लभ घटना हो”, डा शाहले भन्नुभयो, “एमआरआइ वा भिडियो एक्स–रे गरेर उनीहरुको थप शल्यक्रिया गर्नु पर्दछ ।” यद्यपि उनीहरुको शल्यक्रिया सफल हुनसक्ने उहाँको भनाइ थियो ।

ललिताका पति विर्खबहादुर बुढाले उहाँलाई चार दिनसम्म कालीकोट अस्पतालमा राख्नुभएको थियो । अस्पतालले पठाएपछि उहाँले शनिबार बेलुका प्रदेश अस्पताल सुर्खेतमा ल्याउनुभयो । बुढाले सात दिनसम्म बेथाले च्यापेकी श्रीमती र बच्चा सकुशल देख्न पाउँदा खुशी लागेको बताउनुभयो ।

उहाँले शल्यक्रिया गरेर पत्नी ललिता र जुम्ल्याहा बालिका बचाउन सहयोग गर्ने चिकित्सकको टोलीलाई धन्यवाद दिनुभयो । “एकातिर खुशी छु तर अर्कोतिर आजदेखि चिन्ता पनि थपिएको छ”, बुढाले भन्नुभयो । बालिकाको जीवन बचाइदिन उहाँले सरकारसँग सहयोगको याचना गर्नुभएको छ ।

प्रकाशित मिति : November 19, 2018 at 9:32 am